मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

पीएनजीले नेपाललाई दियो ९६ रनको लक्ष्य, सन्दीप एक्लैले लिए ५ विकेट

सोमबार, फाल्गुन २९ २०७९

काठमाडौं । आईसीसी विश्वकप लिग टू को अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी) ले नेपाललाई जितको लागि ९६ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीलाई नेपाली बलरले खुलेर ब्याटिङ गर्ने मौका दिएनन् । पीएनजीले ३२ ओभरमा अलआउट हुँदै मात्रै ९५ रन बनाउन सक्यो ।

पीएनजीका लागि कप्तान असद भालाले सर्वाधिक २० रन बनाए । यस्तै सेसे बाउ १८ रनमा आउट हुँदा चाल्स अमिनिले १६ रन बनाए । हिरि हिरिले १८ रन बनाउँदा पीएनजीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि पूर्व कप्तान सन्दीप लामिछानेले १० ओभर बलिङ गरेर २५ रन दिँदै ५ विकेट लिए । ललित राजवंशीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । दुई स्पिनर राजवंशी र कुशल मल्लले दुई–दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए ।

अब नेपालले केहीबेरपछि जवाफी ब्याटिङ गर्नेछ ।

नेपालले विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

पहिलो खेलमा पीएनजीलाई ५२ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा यूएईमाथि १ सय ७७ रनको जित निकाल्दै एकदिवसीय मान्यता जोगाउन सफल भएको थियो । बाँकी दुई खेल जिते नेपालले शLर्ष तीनमा रहेर विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउने छ ।