काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ ।
हिजो बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको सो रिटको पेसी आज तोकिएको छ ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो । तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखे पछि आजका लागि सारिएको हो ।
प्रचण्डविरुद्ध रामेछापका कल्याण बुढाथोकी, सुवास गिरीलगायत ८ जना र रामेछापकै ज्ञानेन्द्रराज आरणसहित १४ जनाले रिट दायर गरेका छन् ।
प्रचण्डले २०७६ माघ १ गते माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ५ हजारको आफूले जिम्मा लिने बताएका थिए । त्यही साबिती बयानलाई आधार मानेर मंगलबार रिट दायर गरिएको हो ।
यसअघि सर्वोच्च अदालतले शुक्रबार जनयुद्धसँग सम्बन्धित फौजदारी कसुरको निरुपण १६ वर्षसम्म नभएको भन्दै पीडितहरूले न्याय पाउने बाटो बन्द गर्न नहुने भन्दै रिट दर्ता गर्न आदेश दिएको थियो ।