मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

महिला सशक्तिकरण र क्षमता विकास गर्ने सरकारको नीति छ : प्रधानमन्त्री प्रचण्ड

बुधबार, फाल्गुन २४ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले महिला सशक्तिकरण र क्षमता विकास गर्ने सरकारको नीति रहेको बताएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११३औँं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले महिला सशक्तिकरण र विकासका लागि राज्यका तर्फबाट प्राथमिकता दिने स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले महिलाको प्रजनन स्वास्थ, शिक्षामा सुधार हुँदै गएको, सूचना प्रविधिलाई महिलामैत्री बनाउने र विदेशमा काम गर्न गएका महिलालाई सुरक्षित वातावरण बनाउने र समस्या भएमा सरकारले सहयोग गर्ने बताए ।

“संविधान र कानुनले महिलाको हक अधिकारका लागि एतिहासिक महत्वपूर्ण व्यवस्था गरेको छ, स्थानीय तहदेखि राष्ट्रप्रमुखसम्म महिलाले नेतृत्व गरिरहेका छन्,” उनले भने, “महिलालाई राजनीति, सामाजिक र आर्थिक अधिकारमा समानरूपले अघि बढेको छ ।”

प्रधानमन्त्री दाहालले संविधानले महिलाको हकलाई मौलिक हकमै व्यवस्था गरेको भन्दै नीतिगत, कानुनी र संरचना सुधार हुँदै आएको बताए। महिलाले शारीरिक रूपमा गर्न सक्दैन भन्ने कुरालाई महिलाले जनआन्दोलनदेखि आफ्नो क्षमता देखाएको उनले स्मरण गरे ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एकता, सङ्घर्ष र विजयको प्रतिकका रूपमा मनाउँदै आएको र महिलाको सम्मानजनक जीवनयापन गर्नका लागि राज्यले अधिकतम प्रयत्न गरिरहेको बताइन्। उनले संविधान र कानुनमा व्यवस्था भए पनि पैतृक सम्पत्तिमा व्यवहारिक रूपमा अघि बढाउन नसक्नु चुनौतीपूर्ण बनेको बताइन् ।

मन्त्री शर्माले पछिल्लो समयमा तीव्ररूपमा सूचना प्रविधिको विकास भए पनि त्यसको महिलाले सही रूपमा प्रयोग हुन नसकेको र प्रविधि महिलामैत्री बनाउनुपर्नेमा जोड दिइन् । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले महिला अधिकारको बहुआयामिक क्षेत्रबाट अध्ययन गरी महिलाविरूद्धका घटनाको उजुरी लिने, अनुगमन गर्ने र दोषीलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको बताइन् ।

‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहको छ ।