काठमाडौं वैशाख, २५–
वैशाख २८ गते नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन नगर्न नागरिक अगुवाहरुले अपिल गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरका साथै काठमाडौंमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय गरिएको छ ।
बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा.सुरेन्द्र भण्डारी, प्रा.डा.सुरेन्द्र केसी, डा. अरुणा उप्रेती लगायत २४ जना नागरिक अगुवाहरुले संयुक्त वक्तव्य जारी मोदीलाई अभिनन्दन नगर्न अपिल गरेका हुन् । उनीहरुले मोदीको नागरिक अभिनन्दन नगर्न काठमाडौं महानगरपालिका र जनकपुर उपमहानगरपालिकालाई आग्रह गरेका छन् ।
नेपालमा संविधान जारी भए लगत्तै भारत सरकारले १३५ दिनसम्म नाकाबन्दी गरेर मानवीय संकट सृजना गरेको भुल्न नसकिने भन्दै उनीहरुले मोदीलाई नागरिक अभिनन्दन गर्न नहुने तर्क गरेका छन् ।
नाकाबन्दीबाट नेपालमा भएको मानवीय संकट र व्यापार घाटाको छानविन गर्न भारत तयार हुनुपर्ने, नाकाबन्दीका कारण नेपालले भोग्नु परेको आर्थिक, मानवीय एवं सामाजिक क्षतिको लेखाजोखाका लागि नेपाल(भारतबीच दुईपक्षीय मेलमिलाप समिति गठन गरी क्षतिपूर्ति नेपाललाई दिनुपर्ने उनीहरुको माग छ । ‘यो निश्चितताविना मोदीजीलाई गरिने अभिनन्दनलाई नागरिक अभिनन्दन नभनियोस् भन्ने आग्रहसहित जनकपुर उप(महानगरपालिका तथा काठमाडौं महानगरपालिकाको ध्यान आकर्षण गराउन चाहन्छौँ’ वक्तब्यमा भनिएको छ ।