काठमाडौं वैशाख, २०–
पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको बिदा कटौतीप्रति असन्तुष्टि जनाएका छन् । बिहिबार अध्यक्ष प्रचण्डलाई भेट्न पुगेका आदिवासी जनजाति महासंघका प्रतिनिधिसँगको भेटमा प्रचण्डले उक्त कुरा बताएका हुन् । सरकारले हटाएका पर्वका बिदा पुनरावलोकनको पहल गरिदिन भन्दै आदिवासी जनजाति महासंघका प्रतिनिधि प्रचण्ड निवास खुमलटार पुगेका हुन् । उनीहरुले सांस्कृतिक पर्वहरुमा पाउँदै आएको बिदा कटौति भएको भन्दै प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए ।
अध्यक्ष प्रचण्डले समुदायसँग छलफल नगरी कटौति भएका बिदा पुनरावलोकनको पहल गर्ने बताए । उनले त्यसैपनि धेरै बिदा भएको भन्ने चर्चा भइरहँदा सरकारले बिदा घटाउने प्रयास गरेको हुनसक्ने बताउँदै सम्बन्धित समुदायसँग छलफल नगर्दा समस्या भएको बताए ।
‘अहिले दिइरहेको बिदा कटौती गर्ने भन्ने छलफल भएको बिषय होइन । बिदाको पक्षमा तपाईहरुलाई मेरो सहयोग हुन्छ,’ उनले भने । अध्यक्षले प्रधानमन्त्रीसँग छलफल गरेर बिदाका बारेमा टुंगो लगाउने बताए । उनले आदिवासी जनजातिका मुद्धा माओवादी आन्दोलनसँग पनि जोडिएको बिषय भएको भन्दै यसमा आफ्नो सकारात्मक सहयोग हुने विश्वास दिलाए ।
उनीहरुले पर्व बिदा आदिवासी जनजातिको आन्दोलनको उपलब्धी भएको भन्दै सरकारले कुनै सरसल्लाह बिना नै बिदा कटौति गरेको बताए । त्यसैगरी आदिवासी जनजाति उत्थान प्रतिष्ठानलाई निश्क्रिय बनाएको, गुम्वा विकासमा बजेट नदिएको दुर्गम क्षेत्र विकास समितिलाई खारेजीको प्रक्रियामा लगेको, प्रदेशको नामाङ्कनमा पहिचान छुटाएको लगायतका गुनासा आदिवासी जनजातिहरुको थियो ।