बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शिक्षा क्षेत्रमा राजनीति हुनु हुदैनः शेरबहादुर देउवा

मंगलबार, बैशाख १८ २०७५

धनगढी वैशाख, १८–
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा राजनीति हुन नहुने बताएका छन् ।  कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले शिक्षा क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणसँगै गुणस्तरीय शिक्षामा ध्यान दिन जरुरी रहेको बताए ।

देउवाले प्रदेश नं ७ विकासका धेरै सम्भावना रहेको क्षेत्र भएकाले विकासका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।  विश्वविद्यालय अनुदान आयोग, साविक जिल्ला विकास समिति, गेटा गाविस, मालाखेती गाविसको आर्थिक सहयोग र तत्कालीन प्रतिनिधिसभाका सदस्यको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतको बजेटसमेत गरी कूल रु दुई करोड ५० लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

कार्यक्रममा निर्माण समितिका कृष्ण खड्काले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।  उक्त तीन तले उक्त भवनमा २६ कोठा रहेका छन् । स्नातकोत्तरसम्म अध्ययन अध्यापन हुने यस क्याम्पसमा एक हजार २०० विद्यार्थी रहेका छन् । वि।सं २०६३ मा स्थापना भएको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा हाल करिब १ सय ५० गरिब तथा जेहेन्दार छात्रछात्राले छात्रवृत्ति पाएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बन्न लागेको यो क्याम्पसमा पछिल्लो पटक फरेस्ट्री विषयको पढाइका लागिसमेत पहल थालिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र भट्टले बताए । रासस