बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

‘नेपाल फ्रेट फरवार्डर्स एसोशियसन’ को १८ औं बार्षिक साधारणसभा सम्पन्न, अध्यक्ष कार्की सहित सम्पूर्ण टिम निर्विरोध निर्वाचित

शनिबार, बैशाख ८ २०७५

काठमाडौं वैशाख, ८–
नयाँ नेतृत्व चयन गर्दै नेपालका कार्गो व्यवसायीहरुको छाता संगठन ‘नेपाल फ्रेट फरवार्डर्स एसोशियसन’ को १८ औं  बार्षिक साधारणसभा सम्पन्न भएको छ । १८ औं साधारणसभाबाट व्यवसायी एवम् वल्र्ड फ्रेट इन्टरनेश्नलका संचालक प्रकाश सिं कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि पनि अध्यक्ष भैसकेका व्यवसायी कार्कीले उक्त एसोशियसनमा आफ्नो बेग्लै इतिहाँस समेत बनाउन सफल भएका छन् । यो एसोशियसनमा सदस्यदेखि हालको अध्यक्षसम्म आईपुग्दा उनी हरेक पटक निर्विरोध निर्वाचित भएका पात्र हुन् । यसअघिको कार्यकालमा उनी अध्यक्षमा निर्वाचित हुँदा पदाधिकारीदेखि सदस्यसम्म निर्वाचन भएको थियो भने यो पटक उनले अध्यक्षदेखि सदस्यसम्म सबै निर्विरोध टिम निर्वाचित गर्न सफल भएका छन् ।

उक्त एसोशियसनमा वास्तवमा नवनिर्वाचित अध्यक्ष कार्कीले एउटा एतिहासिक काम गर्न सफल भएका छन् । शुक्रवार सम्पन्न निर्वाचन घोषणा कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, वर्तमान उद्योग वाण्ज्यि महासंघका प्रतिनिधि, चेम्वरका प्रतिनिधि,  ‘नेपाल फ्रेट फरवार्ड एसोशियसन’ का संस्थापक तथा पूर्व अध्यक्ष, कार्गो व्यवसायी लगायतको सहभागीता रहेको थियो । निर्वाचन घोषणसभामा बोल्दै नवनिर्वाचित अध्यक्ष कार्कीले नेतृत्वमा रहुन्जेल मात्र होईन  आफूले बाँचुन्जेल यो संस्थाकै लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले अबको कार्यकालमा संस्थाको भवन निर्माण सम्पन्न गराएर अर्कोपटकको साधारणसभा आफ्नै भवनको छतमा सम्पन्न गर्ने भन्दा व्यवसायीले तालीले खुशी प्रकट गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले भने, ‘नेपालमा सबै संस्थामा राजनीतिको प्रभाव परेको छ, तर, यो संस्थामा न हिजो राजनीतिको प्रभाव थियो, न त अबका दिनमा नै हुनेछ ।’ यो संस्था भित्र को कुन पार्टी हो भन्ने नै आफूलाई थाहा नभएको उनको भनाई छ । व्यवसायी तथा अध्यक्ष कार्की यो संस्थाप्रति निकै समर्पित देखिए । उनले व्यवसायीहरुलाई भने, ‘म मरेपछि पनि यहि संस्थाको झण्डा ओढाईदिनुहोला ।’

सोलुखुम्बु कांग्रेसका नेता समेत रहेका अध्यक्ष कार्की गएको प्रदेशसभा निर्वाचनमा सोलुखुम्बुमा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा उम्मेदवार बनेका थिए । अध्यक्ष कार्कीको नेतृत्वमा निर्वाचित अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष मनोज प्रधान, द्वितिय उपाध्यक्ष राजेन्द्र संग्रौला तथा महासचिवमा सुन्दर प्रसाद दाहाल रहेका छन् । त्यस्तै, कोषाध्यक्ष नरेश अग्रवाल, सचिव बलराम बञ्जरा तथा सह–कोषाध्यक्षमा हरि ढकाल निर्वाचित भएका छन् ।  देशैभरका कार्गो व्यवसायीहरुले दुई बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेका हुन् ।