पिजे शाह, वरिष्ठ क्याप्टेन
काठमाडौं चैत, ५–
सोमबार युएस बांग्लाको जहाज त्रिभूवन विमानस्थलमा दूर्घटनाग्रस्त भयो । यो खबर सुन्ने बित्तिकै कस्तो लाग्यो, दूर्घटना कसरी भयो भन्ने लाग्यो ?
यसपटकको घटना दुःखद थियो । मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु । शोकमा डुबेका परिवारजनमा समवेदना प्रकट गर्दछु । जुक किसिमबाट जहाज अगाडि बढेको थियो, त्यसले यो भन्दा ठूलो क्षति पुर्याउन सक्थ्यो । त्रिभूवन विमानस्थलको ह्यांगरमा, नियन्त्रण कक्षमा नै हानिने गरी जहाज आएको थियो । पशुपतिनाथको कृपाले त्यस्तो त भएन, जे भयो त्यो पनि अत्यन्त दुःखद भयो । कसरी जहाज उडाएको थियो, कति धेरै अनप्रोफेस्नल विमान चालक थिए भन्ने कुरा पत्तो पाउन सकेको छैन ।
जहाजले रनवे मे टेकेन । रनवे भन्दा केही पर गएर खतरनाक तरिकाले ल्याण्ड गर्यो । लगत्तै दूर्घटनामा पर्यो । जहाज त रनवेतिर अवतरण गर्नु पर्ने हो नी । तर त्यो जहाज त अन्तै अवतरण गरिरहेको थियो । यस्तो किन भयो भन्ने नै बुझ्न गाह्रो भइरहेको छ । हाम्रो कन्ट्रोल रुमका ट्राफिकहरुले जसरी बोल्नु भएको छ, त्यो सुन्दा जहाज धेरै गलत अवस्थामा थियो भन्ने लाग्छ । ल्याण्ड गर्दा जहाजहरु दूर्घटना हुन सक्छ । तर एक प्रोफेस्नल पाइलटले किन यसो गर्यो भन्ने बुझन सकेको छैन । यो अति नै लापरबाही जस्तो लाग्छ ।
तपाईले कन्ट्रोल कक्ष र पाइलट दुवै जिम्मेवार छन् भन्न खोज्नु भएको त होइन ?
हेर्नुस, न्यनुतम मापदण्डहरु जे जे छन्, त्यो पूरा भएको छैन । एटिसीले जसरी गाइड गरेको छ, त्यो कमजोर प्रकृतिको छ । तर एटिसीले राम्रो गाइड गरेन नै भने पनि उसले गएर क्रयास गर भनेको त छैन नी । जहाजको सुरक्षित अवतरणको जिम्मेवारी पाइलटको हुन्छ । पाइलटले प्रोफेस्नल्ली काम गरिदिएको भए उ जिरो टु छाडेर टु जिरोमा जाने नै थिएन नी । यदि कन्ट्रोलले भनेको स्थानबाट अवतरण गर्न सकिएन भने फेरि आकाशमा उडेर, अर्को प्रक्रिया पूरा गरेर मात्रै फरक तरिकाले अवतरण गर्नु पर्छ । तर त्यस्तो कुनै प्रक्रिया पूरा भएको देखिएन । जमिनमा उड्न ठिक्क परेका अन्य पाइलटहरुले पनि आपसमा कुराकानी गरेका छन् । जहाज कहिले उत्तर, कहिले पूर्व उडेको देखेका थिए । उनीहरुले त्यो जहाजको पाइलट अलमलिएको कुराकानी गरेका छन् । उनीहरुले राडरको सहायताले कतै सुरक्षित स्थानतर्फ पठाइदिनु अनुरोध पनि गरेका छन् । पाइलट नै अलमलमा पर्यो भने केही त गर्नैै पर्छ । तर एटिसीलाई पाइलटले जिरो टुबाट ल्याण्ड गर्छु भन्दा एटिसीले पनि जताबाट मन लाग्छ, त्यतैबाट ल्याण्ड गर भने जस्तो अलमल निर्देशन छ । त्यस्तो बुझिन्छ । त्यसकारण पाइलट नै सुरक्षित अवतरणको प्रमुख जिम्मेवार हो । एटिसीले जे भन्यो त्यो गर्नु हुँदैन ।
तर, अवतरणको बेला कन्ट्रोलले जे निर्देशन दियो, त्यही अनुसार चल्नु पर्छ भन्ने गरिन्छ नि ?
हो, त्यसो गर्नु पर्छ तर यसमा पनि केही कुरा पाइलटको हुन्छ । दक्ष अनुभवी पाइलटले एटिसीमा कुनै नयाँ वा कम दक्ष अफिसर छ भने थाहा पाइ हाल्छ । त्यस्तोमा पाइलट आफैले पनि दिमाग लगाउनु पर्छ । एटिसीले त आउ अवतरण गर भन्छ । किनभने उसका लागि त अरु धेरै जहाजहरु लाइनमा हुन्छन् । कोही अवतरणको प्रतीक्षामा हुन्छन्, केही उडानको प्रतिक्षामा हुन्छन् । तर बांग्ला एअरको कुरामा अलमल देखिएको छ । तर पनि के भने पाइलटले जसरी जहाज उडाएको छ, त्यो हामी कल्पना गर्न सक्दैनौं ।
तपाईले भन्नु भयो कि पाइलटले जथाभावी जहाज उडाएका थिए । जथाभावि जहाज उडाउनेलाई कसरी विमान चालकको प्रमाणपत्र दिइयो त ?
केही देशहरुमा विमान चालकहरुलाई जसरी सशक्त बनाइनु पर्ने हो त्यस्तो भएको हुँदैन । हाम्रै पनि त नेपालमा कति पटक जहाज दूर्घटना भएका छन् । कतिपय अवस्थामा बादलभित्र पस्दा पनि दूर्घटना भएका छन् । यस्ता खाले अवस्थामा खतरा उत्पन्न हुन्छ । पाइलट आफै सक्षम हुनुपर्छ ।
पाइलटलाई अब जहाज दूर्घटनामा पर्दैछ भन्ने थाहा हुन्छ हैन ?
त्यस्तो थाहा हुँदैन । त्यो क्षणिक मात्रै हुन्छ धेरै अवस्थामा । यसपटकको केसमा परिस्थितिजन्य सजगता भन्ने कुरा भएन । पाइलटले आफू कहाँ छु, कति उचाइमा छु, वरपर के के छ भन्ने कुरा ख्याल राख्नु पर्छ । यो सबै थाहा हुनुपर्छ । जहाजलाई अवतरण गरेर इञ्जिन बन्द नभएसम्म पाइलट निश्चिन्त हुन हुँदैन ।
पाइलट प्रोफेस्नल भएनन्, अब ध्यान दिनु पर्ने कसले ? ती त बंगाली पाइलट थिए । नेपाली होइनन् । ध्यान दिनु पर्ने कसले ?
त्यसमा नेपाली र बंगाली भन्ने हुँदैन । सबैतिर सबै विमानस्थलमा नियम एउटै हुन्छ । कुनै विमानचालक ठिक छ कि छैन भन्ने कुरा अपरेसनले हेर्नु पर्छ । त्यो देशको सिभिल एभिएसनले हेर्नु पर्छ । पुराना पाइलटले पनि परीक्षण गरेर मात्रै पास गर्नु पर्छ । प्रोफेस्नालिजमलाई सिरियसली लिनु पर्छ । सिभिल एभिएसनहरुको मापदण्ड नै देश देशबीच फरक छ । मेरो त सुझाव यो एअरलाईन्सलाई नेपालमा बन्द गर्नु पर्छ ।
हाम्रो मापदण्ड पनि कमजोर छ । जहाजहरु आकाशमा धेरै होल्ड गर्नु पर्ने अवस्था छ । समस्या हामीमा छैन ?
जहाज आकाशमा होल्ड भयो भन्दैमा मापदण्ड कमजोर छ भन्न मिल्दैन । किनभने हाम्रो काठमाडौं कचौरा जस्तो छ । यस्तो भूगोल भएको ठाउँमा हवाई जहाजहरु होल्ड त भइहाल्छन् । कुनै अनौठो भएन । काठमाडौ क्याटगरी सीमा पर्छ । बैंकक, मुम्बई जस्तो होइन यो राजधानी । त्यसकारणले यो विमानस्थलमा आउन पहिले तालिम लिनु पर्छ । यहाँको सबै प्रक्रिया बुझनु पर्छ । पाइलट अभ्यस्त भएपछि मात्रै उडाउन पाइन्छ ।
हामीसँग अरु पनि विमानस्थल भएको भए यस्तो हुँदैन थियो कि ?
त्यसबारेमा म पछि भन्छु । हामीसँग एउटा अनवान्टेड समस्या छ । युरोपेलीहरुले हाम्रो जहाजलाई ब्लाक लिस्टेड गरेका छन् । हामीले पनि स्तर जाँचेर अरुलाई बोलाउनु पर्छ । यो विषय महत्वपूर्ण हो । त्यसकारण हाम्रो पनि मापदण्ड तोक्नु पर्छ । यस्ता खाले एअरलाइन चलाउन दिनु हुँदैन । हाम्रो सिभिल एभिएसनले युएस बांग्लाको सबै कुरा जाँचेर मात्रै आउन दिनु पर्छ ।
काठमाडौको सिमितता छ । यहाँ कतिपय कुरा बढाउन सकिदैन । यसकारण हामीले नजिकै अर्को विमानस्थल बन्नु पर्छ । मूख्य विमानस्थल त्रिभुवन विमानस्थल बन्नु हुँदैन । अन्तर्राष्ट्रिय विमानस्थलका लागि यो ठाउँ छैन । यसकारण केही बदल्न जरुरी छ ।
दूर्घटना भइहाले पनि कम क्षति होस भन्नका लागि चाहि हामीले गर्नु पर्ने कुरा के छ ?
युएस बांग्लाको जहाज दूर्घटना भएपछि फायर फाइटर, एम्बुलेन्स, उद्धारकर्मीहरु पुगे । उनीहरुले आफ्नो काम गरे । त्यो नराम्रो छैन । उनीहरुले राम्रो काम गर्न नसकेको भए पक्कै पनि सबैको निधन हुन्थ्यो होला । समयमै आगो निभाउन सकेको कारणले नै केहीको ज्यान जोगियो । नत्र यति ठूलो विमान दूर्घटनामा मान्छे बाँच्दै बाँच्दैनन् । रेस्क्यु भएको ठाउँमा उच्च पदाधिकारीहरु चाहि त्यहाँ किन गएका हुन ? डिस्टर्व गर्न जान जरुरी नै थिएन । उनीहरु के कामले गएका हुन ? के त्यो कुनै उत्सव हो ? त्यहाँ अनेक आकस्मिक कामहरु भइरहेको हुन्छ । त्यस्तो ठाउँमा राजनीतिक, प्रशासनिक क्षेत्रका मानिसहरु जान आवश्यक नै हुँदैन । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।