काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । एमाले सरकारबाट बाहिरिएसँगै अहिले उनको काँधमा १६ मन्त्रालयको जिम्मेवारी छ । राष्ट्रपति निर्वाचनअघि नै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।
मन्त्रिपरिषद् विस्तारका लागि नयाँ गठबन्धन दलहरूबीच छलफलसमेत सुरु भएको हो । राष्ट्रपति चुनावअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा बालुवाटार बैठकमा पनि छलफल भएको थियो । सोमबार बालुवाटारमा बसेको आठ दलीय गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो । मन्त्रालय बाँडफाँड हुँदा अब एमाले, राप्रपा र रास्वपाले छाडेकासहित प्रधानमन्त्रीसँग यसअघि खाली राखिएका मन्त्रालय बाडिनेछन् ।
फागुन २५ मा राष्ट्रपति चुनाव हुँदै छ । चैत ३ मा उपराष्ट्रपति चुनाव हुनेछ भने चैत १२ भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।
आठ दलीय गठबन्धनमा सामेल भएका दलहरु चाँडै सरकारमा जान चाहन्छन् । माओवादी केन्द्र र जनमत पार्टीबाहेक सरकारबाट अरु सबै दल बाहिरिएकाले पनि राष्ट्रपति चुनावअघि नै मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने विषयमा बालुवाटार बैठकमा पनि छलफल भएको छ।
मन्त्रालय बाँडफाँड हुँदा अब एमाले, राप्रपा र रास्वपाले छाडेकासहित प्रधानमन्त्रीसँग यसअघि नै जसपाका लागि भनेर राखिएका मन्त्रालय बाँडिनेछन् । गृह मन्त्रालय माओवादीले नै राखेर अर्थ मन्त्रालयले कांग्रेसले लिने समझदारी भइसकेको बताइन्छ ।
यसअघि एमालेले पाएका मन्त्रालय कांग्रेसले पाउने र जसपा र नेकपा एसले तीन तीनवटा मन्त्रालय दाबी गरेका छन् । यसअघि जसपाले २ मन्त्रालय अस्वीकार गरेर सरकारमा गएको थिएन । जसपालाई ३ मन्त्रालय र नेकपा एसलाई २ मन्त्रीसहित एक राज्यमन्त्री दिने गरि सहमति लगभग भइसकेको छ । नागरिक उन्मुक्ति पनि एक मन्त्रीसहित सरकारमा जाने तयारी छ । यता लोसपाले भने २ मन्त्री पाउनु पर्ने दाबी गर्दै आएको छ ।