काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गरेका छन्। शहिद, घाइते तथा बेपत्ता परिवारको सम्मानका लागि आयोजित कार्यक्रममा ओलीले आफूसँग मिलेर काम गर्दा जथाभावी गर्न नपाएपछि प्रचण्डले साथ छाडेको आरोप लगाए। प्रधानमन्त्री दाहालले शनिबार महेन्द्रनारायण निधिको १०१औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा ओलीसँगको दुई महिने सहकार्य गाह्रो भएको टिप्पणी गरेका थिए।
त्यसको जवाफ फर्काउँदै उनले भने, ‘उहाँले हिजो भन्नुभयो, दुई महिना कस्तो गाह्रो भएको थियो। हरियो देख्नै नहुने दाम्लो छिनालेर जाने, मैले रोकिदिने। मलाई थाहा थियो, उहाँ टिक्न सक्नुहुन्न। उहाँका गतिविधि निर्वाध चल्न पाउने, मसँग मिलेर काम गर्दा कालेकाले मिलेर खाऔँ भाले हुन सक्दैन, सक्दैनथ्यो। त्यहीँ भएर अन्त जानुभयो।’
राष्ट्रपति पदका लागि शनिबार कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहित आठ दलका तर्फबाट रामचन्द्र पौडेल र एमाले सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ। ओलीले माओवादी र प्रचण्डले जनयुद्धका घाइते अपांगलाई धोका दिएको दाबी गरे। आफ्ना सहयोद्धालाई धोका दिनेले आफूलाई धोका दिनु सामान्य भएको ओलीको टिप्पणी थियो।
उनले २०६२ /६३ पछि सबैभन्दा बढी सत्ता पक्ष भए पनि दाहालले जनयुद्धमा सहभागीका लागि केही नगरेको जिकिर गरे।
ओलीले दूध भात खान पाएपछि बिरालोले घर छाडे जस्तै दाहालले पनि त्यही व्यवहार देखाएको बताए।
‘बिरोलो किन्नु पर्दैन, कचौरामा दूध भात दिएपछि पल्लो घरको आफैँ आउँछ। त्यस हिसाबले सरकारको नेतृत्व गर्ने सिलसिला जारी छ,’ ओलीले अगाडि भने, ‘परिवारका सदस्यले राम्रै कमाएका होलान्, भान्जा भान्जी भाइ भतिजा, छोरी ज्वाइँले पाएकै छन्। उहाँले चलाएको जनयुद्धको याद छ कि छ्रैन? कसकाविरुद्ध आन्दोलन गर्नुभएको थियो?’
ओलीले फागुन १ गते जनयुद्ध दिवसका दिन दाहाल नेतृत्वको सरकारले दिएको सार्वजनिक बिदाको पनि विरोध गरेका थिए। उनले हिंसात्मक घटना सुरु भएको दिनलाई दिवसका रुपमा मनाउनु ठीक नभएको बताएका थिए।
उनले दाहालको बोली एउटा व्यवहार अर्कै हुन्छ भनेर पहिल्यै थाहा पाएको पनि मिलेर जान सकिन्छ कि भनेर प्रयत्न गरेको उल्लेख गरे।
‘देशको समस्या समस्या समाधान गरौँ, जनताको समस्या समाधान गरौँ भनेर प्रयत्य गरियो,’ ओलीले अगाडि भने, ‘पुष्पकमल दाहालजी बोल्नुहुन्छ, एउटा गर्नुहुन्छ अर्को, दायाँतिर हेर्नुहुन्छ, बायाँ गर्नुहुन्छ। मैले हातमा फूल लिएर बसेको छु, भन्नुभयो तर मेरो आँखाले धोका खाएको थिएन। हातमा चक्कु लिनुभएको थियो। उहाँ ढाट्न छक्याउन सिपालु हुनुहुन्छ। आफ्ना सहयोद्धालाई धोका दिनुभयो मलाई त के भो र?’