काठमाडौँ – आइसिसी क्रिकेट विश्वकप लिग– २ मा नेपालले संघर्षपूर्ण जित हात पारेको छ । नेपालको यो लगातार दोस्रो जित हो । स्कटल्याण्डले दिएको २७५ रनको लक्ष्य पछ्याउँदै आएको नेपालले १८ बल बाँकी छँदै लक्ष्य पूरा गरेको हो ।
दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङले आइसिसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्डलाई तीन विकेटले पराजित गर्दै जित हात पारेको हो । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए ।
यस्तै कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्का प्रहार गर्दै ८१ रन जोडे । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो । रण्स्कटल्याण्डले ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा दुई सय ७४ रन बनाएको थियो । स्कटल्याण्डका लागि मिचेल लिस्क एक्लैले एक सय सात रन बनाए । सातौँ नम्बरमा ब्याटिङ गरेका लिस्कले ८५ बलमा नौ छक्का र तीन चौकाको मद्दतमा अविजित १०७ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर तीन विकेट लिए भने कुशल मल्लले नौ ओभरमा एक मेडन राख्दै ४९ रन खर्चेर दुई विकेट लिए । सोमपाल कामीले नौ ओभरमा एक मेडन राख्दै ५२ रन खर्चेर एक विकेट लिए भने कुशल भुर्तेलले ६ ओभरमा २२ र दीपेन्द्र सिंह ऐरीले पाँच ओभरमा २५ रन खर्चेर १ १ विकेट लिए ।