बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

प्रचण्डलाई नेकपा एसकाे ज्ञापनपत्र : आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह

मंगलबार, माघ १७ २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ ।

आज बिहान प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै समाजवादीले आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै ध्यानाकर्षण गराएको छ । दैनिकजसो आत्महत्याको घटना हुनु पनि त्यसैको कारण भएको एकीकृत समाजवादीको ठहर छ ।

जर्जर बनेको देशको अर्थतन्त्र सुधार युवा र बौद्धिक जनशक्ति रोक्न प्रभावकारी कदम चाल्नुपर्ने नेकपा एसले बताएको छ ।

प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव विजय पौडेलले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेको र आर्थिक शंकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारणले दैनिक जसो आत्महत्या गर्नुपरेका घटना बढीरहेको बताए । उनले देशको आर्थिक शंकट समाधानका लागि सरकारले तत्काल चाल्नुपर्ने कदम र अपनाउनुपर्ने आर्थिक रणनीतिका बारेमा प्रतिपक्षी दलको हिसावले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई सुझाव दिएको पनि बताए । 

त्यस्तै विधानमा उल्लेखित आर्थिक नीति कडाईका साथ लागू गर्न, युवा विद्यार्थी र बौद्धिक जनशक्ति पलायनका लागि प्रभावकारी कदम चाल्न, कक्षा ८ देखि १२ सम्मका पाठ्यक्रममा १ विषय अनिवार्य सीपमुलक तालिम र देशभक्तिपूर्ण पाठहरु राख्न, विद्यार्थीहरुको विदेश पलायन रोक्नका लागि देशभित्र विद्यार्थीले पढ्न चाहेको विषयमा पर्याप्त सिट संख्या उपलब्ध गराउन, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनका लागि कृषि उत्पादन वृद्धिमा जोड दिनुका साथै कृषि उपज बिक्रीको प्रत्याभुति गर्न आग्रह गरेको छ ।

त्यस्तै भौतिक निर्माण विकासका योजना निर्माण र बजेट विनियोजन प्रणालीमा आमुल परिवर्तन गर्न, भौतिक विकास निर्माणको योजना, उत्पादन बिक्रीतर्फ अति आवश्यक्ताको क्षेत्र छनोट गरेर रोजगारी वृद्धि हुनेगरी युवा, श्रम शक्ति देशमै अडाउने योजनाका साथ खर्च गर्ने, सोही अनुसार बजेट विनियोजन गर्ने प्रणाली स्थापित गर्न, बहुवर्षिय योजनाका नाममा नाम मात्रैको बजेट छुट्याउने र वर्षौंवर्षसम्म आयोजना पूरा नहुने परिपाटी अन्त्य गर्न माग गरेको छ ।