बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

स्पट फिक्सिङको आरोपमा क्रिकेटर महबुब आलम र आदिल अन्सारी पक्राउ

मंगलबार, माघ १० २०७९

काठमाडौं । पूर्व क्रिकेटर महबुब आलम र आदिल अन्सारी पक्राउ परेका छन् । 

स्पट फिक्सिङ गरेको आरोपमा राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो । 

आलमलाई राजविराज र आदिललाई विराटनगरबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी स्रोतले बताएको छ ।

त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म भएको नेपाल टी–२० लिमा स्पट फिक्सिङ गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका आलम विश्व कीर्तिमानी क्रिकेटर हुन् । सन् २००३ मा नेपालको राष्ट्रिय टिमबाट डेब्यू गरेका सप्तरी राजविराजका महबुबले करिव डेढ दशक अन्तर्राष्ट्रिय करिअरमा बिताए । सन् २०१७ यता उनी राष्ट्रिय टिममा भने छैनन् । 

 एकदिवसीय स्वरुपको सिनियर अन्तर्राष्ट्रिय प्रतियोगिताको एकै खेलमा १० विकेट लिने कीर्तिमान आलमको नाममा छ । सन् २००८ मा उनले मोजाम्बिकविरुद्ध उक्त सफलता हात पारेर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाएका थिए । 

आदिल भने राष्ट्रिय टीमका उदीयमान अलराउण्डर हुन् ।