काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन समूह छुट्टै भेला, बैठक र छलफलमा जुटेको छ ।
यसै सन्दर्भमा आज समूहले छुट्टै भेलाको आयोजना गरेको छ । चुनावी समीक्षा गर्न भेला बोलाइएको बताइएको छ ।
भेलाबाट चुनाव र गठबन्धनबारे पार्टीको केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेण्डा तय गर्ने तयारी यो समूहको छ ।
नयाँ सत्ता समीकरण बनेपछि यसअघि नै संस्थापन इतर समूहका नेताहरु शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत बसेर छलफल गरेका थिए ।
यता, पार्टी सभापति शेरबहादुर देउवाको बिरोध गर्नेहरुले नै काँग्रेसको नेतृत्वमा नै सरकार बन्नुपर्ने र राष्ट्रपति पनि काँग्रेसले नै राख्नुपर्ने माग गरेकाले अहिले इतरपक्षले अनर्गल प्रचार गर्न नमिल्ने संस्थापन पक्षले आरोप लगाउँदै आएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा प्रकाशशरण महतले यस्तो बताएका थिए ।
इतर समूहले यसअघि पनि छुट्टै छलफल गरेको थियो ।
महामन्त्री गगन थापाले आसन्न केन्द्रीय समितिको बैठकमा विभाग गठनको प्रस्ताव ल्याउन सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । विभाग तथा भ्रातृ संस्थाहरु गठन नहुँदा पार्टीलाई परिचालन गर्न कठिनाई भएको उनको भनाइ छ । सभापतिले विधानलाई कार्यान्वयन नगर्दा कतिपय विषयहरु अड्केको उनको भनाइ छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस २८ गते बस्ने तय भएको छ ।