काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदबहाली गरे लगत्तै आफ्नो चुनावी प्रतिवद्धता अनुसार काम गर्ने कार्यको थालनी गरेकी छन्।
उपमेयर तथा न्यायिक समितिकी उपमेयर डंगोलले पदबहालीसँगै महिला संरक्षणका लागि ‘महिला सेल’ गठन गर्ने निर्णय गरेकी हुन् ।
न्यायिक समिति प्रमुखको हैसियतमा यो उनको पहिलो निर्णय हो । महानगरपालिकाका सबै वडामा महिला सेल गठन गरिनेछ । यो सेलले हिंसामा परेका, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजीकरण र आत्मरक्षाको तालिम लगायतको व्यवस्थापन गर्नेछ । महिला सेलले महानगरको न्यायिक समितिसँग समन्वय गरी अन्यायमा परेका र पीडित महिलाहरूका लागि आवश्यक कार्य गर्नेछ ।
उनले चुनावी प्रतिबद्धताअनुसार काम गरेको बताइन् । उनको चुनावी प्रतिबद्धता पत्रको २२ नम्बर बुँदामा महिला सेल गठन गर्ने उल्लेख छ । ‘सभ्य र शान्त समाज निर्माणका लागि वुमन सेल आवश्यक छ भनेर यसलाई प्राथमिकतामा राखेको हो,’ उनले भनिन् ।
त्यसैगरी, उनले पदबहालीपछि मेलमिलाप कर्तालाई आह्वान गर्न मेलमिलापको सूची अध्यावधिकका लागि सूचना प्रकाशन गर्ने पत्रमा पनि हस्ताक्षर गरेकी छन् । मेलमिलाप केन्द्र पनि प्रत्येक वडामा गठन गरी सानातिना विवादलाई वडा तहबाटै छिनोफानो गरिनेछ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ मा उल्लेखित विवादहरूको निरूपण गर्दा न्यायिक समितिले मेलमिलापलाई प्राथमिकता दिई गर्नुपर्ने मेलमिलाप गराउँदा उक्त ऐनको दफा ४९ को उपदफा (३) बमोजिम न्यायिक समितिले सूचीकृत गरेका मेलमिलापकर्ताबाट गराउनुपर्ने कानुनी व्यवस्था रहेकाले प्रक्रियाअनुसार अघि बढ्ने उनले बताइन् ।
पद तथा गोपनीयताको शपथग्रहण भएकै दिन बसेको बैठकमा उहाँले फोहोरलाई सदुपयोग गरेर नै यसको सही व्यवस्थापन गर्न सकिने उनले बताइन् ।उनले भनिन्, ‘फोहोरलाई मोहोर अब नारामा होइन, यथार्थमा बदल्नुपर्दछ ।’
उपमेयर डंगोलले आगामी पाँच वर्षको कार्यकाल काठमाडौं बासिन्दाको हक, हित, अधिकार र सहज जीवनयापनको लागि काम गर्ने प्रतिबद्धता समेत जनाइन् । उहाँले व्यक्तिको सफलता र असफलताको पछि भन्दा पनि संस्थालाई विकास गर्नेमा लक्ष्य राख्ने समेत बताइन् ।