बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मुलुकको निर्यात सुधार 

बुधबार, चैत्र ३० २०७८

काठमाडौँ l पछिल्लो समय मुलुकको निर्यात व्यापारमा सामान्य सुधार देखिएको छ । सरकारले आयातलाई निरुत्साहित गर्दे निर्यात बढाउने योजना अघि सारे अनुसार पनि वैदेशिक व्यापारमा यसको असर देखिएको हो । सो अनुसार चालु आवको पछिल्लो आठ महिनामा निर्यात व्यापारमा सुधार देखिएको छ । 

नेपाल राष्ट्र बैंकले आज मंगलबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी पछिल्लो आठ महिनाको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात ८२ दशमलव नौं प्रतिशतले वृद्धि भई एक खर्ब ४७ अर्ब ७५ करोड रुपैंयाँ पुग्न सफल भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात सात दशमलव आठ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय चार दशमलव दुई प्रतिशत र २९ दशमलव एक प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात ११ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया जडीबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

प्रतिवेदन अनुसार चालु आवको पछिल्लो आठ महिनामा कुल वस्तु आयात भने ३८ दशमलव छ प्रतिशतले वृद्धि भई १३ खर्ब आठ अर्ब ७३ करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात दुई दशमलव एक प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २८ दशमलव एक प्रतिशत, ३६ दशमलव सात प्रतिशत र ७५ दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ । 

निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो आठ महिनामा कुल वस्तु व्यापार घाटा ३४ दशमलव पाँच प्रतिशतले वृद्धि भई ११ खर्ब ६० अर्ब ९९ करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा एक दशमलव छ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाई छ । समीक्षा अवधिमा निर्यात आयात अनुपात ११ दशमलव तीन प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव छ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ४७ अर्ब तीन करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब २१ अर्ब ३६ करोड बराबरको भएको थियो ।