बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

८८ प्रतिशतले निर्यातमा बृद्धि

शनिबार, फाल्गुन २८ २०७८

सात महिनामा एक खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात

काठमाडौँ l कुल वस्तु निर्यात बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी सात महिनाको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात ८८ दशमलव तीन प्रतिशतले वृद्धि भई एक खर्ब ३१ अर्ब ६६ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात सात दशमलव छ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय १३ प्रतिशत र २७ दशमलव सात प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १२ दशमलव चार प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुस लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७८-७९ को सात महिनामा कुल वस्तु आयात ४२ दशमलव आठ प्रतिशतले वृद्धि भई ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात नगन्य अर्थात् शुन्य दशमलव शुन्य एक प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३० दशमलव नौ प्रतिशत, ४२ दशमलव तीन प्रतिशत र ८३ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकले जानकारी दिएको छ । 

निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७८-७९ को सात महिनामा कुल वस्तु व्यापार घाटा ३८ दशमलव चार प्रतिशतले वृद्धि भई १० खर्ब १५ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा शुन्य दशमलव सात प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११ दशमलव पाँच प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सो ही अवधिमा यस्तो अनुपात आठ दशमलव सात प्रतिशत रहेको राष्ट्र बैंकको भनाई छ । 

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब २८ अर्ब १७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब चार अर्ब १३ करोड बराबरको भएको थियो । 

वृहत आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४८ दशमलव दुई प्रतिशत र ५१ दशमलव सात प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् शुन्य दशमलव शुन्य दुई प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३२ दशमलव चार प्रतिशत, शुन्य दशमलव छ प्रतिशत र ६७ प्रतिशत रहेको थियो  समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३ दशमलव सात प्रतिशत, पुँजीगत वस्तुको १० दशमलव नौ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३५ दशमलव चार प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३ दशमलव तीन प्रतिशत, ११ दशमलव नौ प्रतिशत र ३४ दशमलव आठ प्रतिशत रहेका थिए ।