काठमाडौं, भदौं १४ । सरकारले महिलामा नाममा जग्गा दर्ता गर्दा २५ प्रतिशत छुट दिएसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्दै गएको देखिन्छ । अहिले देशको कुल जग्गामा महिलाको नाममा दर्ता भएका जग्गा ३९ प्रतिशत रहेका छन् ।
सरकारले जग्गा दर्ता दिएको छुटले जग्गामा महिलाको स्वामित्व मात्रै बढाएको छैन यसले महिला शसक्तिकरणमा पनि सकारात्मक योगदान गरेको छ ।
हुनत महिलाको नाममा घरजग्गा दर्ता गरेर पुरुषले नै सञ्चालन गर्ने गरेको गुनासो नआएको होइन । तर, उक्त जग्गा बेच्नका लागि पुरुषले महिलासँग अनुरोध गर्नुपर्ने स्थिती रहेकाले यसले महिला शसक्तिकरणमा ठूलो योगदान गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता गुरुदत्त सुवेदी बताउँछन् ।
उनले भने ‘ महिलाको नाममा जग्गा दर्ता भएपछि पुरुषले सो जग्गा दर्ता गर्दा महिलालाई मनाउनुपर्ने, चित्त नबुझे महिलाले ल्याप्चे नलाउने वा दस्तखत नगर्ने हुनसक्छ । ’
महिला, दलित, ७० वर्ष माथिका नागरिक, १८ वर्ष भन्दा कम उमेरका व्यक्तिका नाममा घरजग्गा किन्दा २५ प्रतिशत राजस्व छुट दिने व्यवस्था छ। त्यस्तै एकल महिलाका नाममा गरिने किनबेचमा भने ३५ प्रतिशत सम्म राजस्व छुट दिने व्यवस्था छ । यस्तो छुटका कारण महिलाको नाममा जग्गा दर्ता गर्ने क्रम बढेको हो ।
छुट रकमको ९५ प्रतिशत भन्दा बढी हिस्सा महिलाका नाममा गरिने किनबेचको रहेको विभागको भनाई छ । वृद्धवृद्धा, बच्चा र दलितको नाममा भने कुल छुट रकमको ५ प्रतिशत भन्दा कम मात्रै राजस्व छुट हुने गरेको विभागका अधिकारीहरु बताउँछन् ।
२०७६÷७७ मा पुनः ८८ करोड आठ लाख ४० हजार ६० रुपैयाँ राजस्व छुट गरिएको थियो । तर गत आर्थिक वर्षमा भने चार अर्ब ७० करोड २६ लाख ९४ हजार ३ सय ५४ रुपैयाँ राजस्व छुट दिएको भूमि व्यवस्थापन तथा अभिलेख विभाग बताउँछ ।
२०७५÷७६ मा एक अर्ब पाँच करोड ३ लाख ६९ हजार ९४१ रुपैयाँ राजस्व छुट दिएको थियो । २०७४÷७५ मा ८ करोड ५७ लाख ६७ हजार ४३७ रुपैयाँ राजस्व छुट गरिएको थियो भने आर्थिक वर्ष २०७३÷७४ मा ३७ करोड ३६ लाख तीन हजार ७ सय ७५ रुपैयाँ राजस्व छुट गरिएको विभागको तथ्यांक छ।
महिलाका नाममा किनिने घरजग्गामा मात्रै होइन महिला र पुरुष दुवै जनाको संयुक्त नाममा किन्दा पनि २५ प्रतिशत राजस्व छुट पाइन्छ ।
सम्पत्तिमा महिलाको पहुँच बढाउन अहिले श्रीमानको नाममा मात्रै भएको जग्गालाई १०० रुपैयाँको लिखत बनाएर दुवै जनाको नाममा कायम गर्न सकिने व्यवस्था रहेको विभाग बताउँछ । दुबैका नाममा गर्दा परिवारमा विखण्डन आउन कम हुने भन्दै संयुक्त रुपमा घरजग्गा किन्न विभागले प्रोत्साहन गरेको देखिन्छ ।