बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि उपभोग दस्तुर, कुन सवारीलाई कति?

बिहिबार, कार्तिक १२ २०८३

काठमाडौं । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) सङ्कलन गरिने भएको छ।

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले बिहीबार सूचना जारी गर्दै टोल शुल्क सङ्कलन सुरु हुने जानकारी दिएको हो।

आयोजनाका अनुसार सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय तथा नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाबमोजिम शुल्क उठाउन लागिएको हो।

निर्धारित दरअनुसार सुरुङमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने कार, भ्यान, पिकअप, ट्याक्टर र माइक्रोबसलगायत हलुका सवारीसाधनले ६५ रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ। काठमाडौं हुँदै बाहिरिने यस्ता सवारीसाधनका लागि भने ६० रुपैयाँ शुल्क तोकिएको छ।

त्यस्तै, मिनीबस तथा मिनी टिपर वा ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ।

बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

यसैगरी, मल्टी एक्सल ट्रक तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्ने आयोजनाले जनाएको छ।

सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनका लागि शुल्क सङ्कलन गर्न लागिएको हो। निर्धारित मितिदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आफ्नो वर्गअनुसार तोकिएको शुल्क तिर्नुपर्नेछ।