मानिसले आफू जन्मिने भूगोल, धर्म, जात, सम्प्रदाय वा वर्ग आफैँ रोज्न सक्दैन। तर जन्मपछि उसले गर्ने कर्म, अपनाउने विचार र देखाउने व्यवहारले नै उसको वास्तविक पहिचान निर्धारण गर्छ। कुनै निश्चित भूगोल, जात वा धर्ममा जन्मिएकै आधारमा कसैलाई विभेद गर्नु वा विवादको विषय बनाउनु न्यायसङ्गत हुँदैन। लुम्बिनि विकास कोषको उपाध्यक्षमा नवनियुक्त आनी छोइङ डोल्मा कुनै निश्चित भूगोल, धर्म वा जातीय पृष्ठभूमिमा जन्मिनु उनको अपराध होइन। लोभ, द्वेष र मोह त्याग्दै भगवान् बुद्धले देखाउनुभएको आर्य अष्टाङ्गिक मार्गमा हिँड्ने प्रयास गर्नु, करुणा र सद्भावलाई आत्मसात् गर्नु तथा आध्यात्मिक साधनामा समर्पित हुनु हामी सबैका लागि प्रेरणादायी विषय हो। त्यसैले मानिसको मूल्य उसको जन्मले होइन, कर्मले निर्धारण गर्छ। बुद्धले सिकाउनुभएको धर्मको मूल मर्म घृणा, विभेद, असमानता र द्वेष होइनस मैत्री, करुणा र सद्भाव हो।
बुद्धको मार्गमा हिँड्ने प्रयास गरिरहेकी एक भिक्षुणीलाई उनको जन्म, पृष्ठभूमि वा पहिचानका आधारमा विवादित बनाउनु बुद्धको शिक्षाको मर्मविपरीत हो। बौद्ध भिक्षुणी तथा गायिका डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरिएको विषयलाई लिएर बौद्ध समुदायभित्र विभाजन सिर्जना हुनु तथा धार्मिक र जातीय आधारमा टीकाटिप्पणी गर्दै घृणा फैलाउने प्रयास हुनु दुःखद विषय हो। कुनै पनि नियुक्तिको विषयमा प्रश्न उठाउन र आलोचना गर्न पाइन्छ, तर त्यस्तो आलोचना व्यक्तिको जन्म वा पहिचानमा केन्द्रित नभई योग्यता, क्षमता, कार्ययोजना र जिम्मेवारी निर्वाह गर्ने सामर्थ्यमा आधारित हुनुपर्छ।
पुर्खाहरूको उद्गम कहाँ थियो भनेर खोज्नुभन्दा पनि आनी छोइङ डोल्माले यही माटोमा जन्मिएर, हुर्किएर र आफ्नो सम्पूर्ण जीवन बौद्ध मार्गमा समर्पित गरेर नेपाली समाजमा पुराएको योगदानलाई बुझ्नु महत्त्वपूर्ण छ। उनी १३ वर्षकै उमेरमा गुम्बामा प्रवेश गरी बौद्ध मन्त्र, धार्मिक सङ्गीत र आध्यात्मिक साधनाको अध्ययनमा आफूलाई समर्पित गर्दै गुम्बाकै जीवनमा रमाएकी भिक्षुणी हुन्। उनी कुनै सांसारिक स्वार्थ पूरा गर्न भिक्षुणी बनेकी होइनन्, बरु आफ्नो जीवन बौद्ध दर्शन, साधना र सेवामा समर्पित गरेकी हुन्। उनको जीवनयात्रा र समर्पणबाट हामी सबैले प्रेरणा लिन सक्नु पर्छ।
आनी छोइङ डोल्मालाई राज्यले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको विषयलाई उनको व्यक्तिगत स्वार्थमा मात्र सीमित गरेर हेर्नु उचित हुँदैन। यस नियुक्तिसँगै भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धि गर्ने, बौद्ध सम्पदाको संरक्षण गर्ने र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने जिम्मेवारी पनि जोडिएको छ। त्यसैले उनको नियुक्तिलाई समर्थन वा आलोचना गर्ने दुवै पक्षले व्यक्तिगत पूर्वाग्रहभन्दा माथि उठेर लुम्बिनीको हित, संस्थाको आवश्यकता र सार्वजनिक जिम्मेवारीलाई प्राथमिकता दिनुपर्छ। बुद्धको शिक्षा करुणा, मैत्री, अहिंसा र समानतामा आधारित छ। त्यसैले बुद्धको नाम लिँदै जातीय घृणा फैलाउनु, धार्मिक समुदायबीच विभाजन सिर्जना गर्नु र व्यक्तिलाई जन्मका आधारमा मूल्याङ्कन गर्नु बुद्धको शिक्षासँग मेल खाँदैन। आलोचना लोकतान्त्रिक समाजको स्वाभाविक अभ्यास हो, तर आलोचना तथ्य, तर्क र कार्यसम्पादनमा आधारित हुनुपर्छ। जन्म र पहिचानका आधारमा कसैलाई निषेध गर्ने प्रवृत्तिले समाजमा विभेद र द्वेषलाई प्रोत्साहन गर्छ।
भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनी समग्र मानव सभ्यताको साझा ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक सम्पदा हो। लुम्बिनीको गरिमा कुनै एक धर्म, समुदाय, भूगोल वा देशको सीमाभित्र मात्र सीमित छैन। यो विश्व समुदायको साझा आस्थाको केन्द्र, मानवताको साझा धरोहर र विश्वशान्तिको महत्त्वपूर्ण प्रतीक हो। त्यसैले लुम्बिनी विकास कोषको नेतृत्व र व्यवस्थापनमा योग्य, सक्षम, जिम्मेवार तथा समर्पित व्यक्तिहरूको सहभागितालाई प्रोत्साहन गर्नुपर्छ। भिक्षु वा भिक्षुणीको बाहिरी स्वरूपलाई मात्र आधार बनाउनुको सट्टा करुणा, मैत्री, प्रज्ञा, त्याग, क्षमता र सेवाभावजस्ता गुणलाई महत्त्व दिनुपर्छ। आनी छोइङ डोल्माजस्ता साधकहरूको योगदानलाई पनि यही दृष्टिकोणबाट मूल्याङ्कन गरिनुपर्छ।
विश्वभरका करोडौँ बौद्ध धर्मावलम्बीहरूको गहिरो आस्था लुम्बिनीसँग जोडिएको छ। उनीहरूका लागि लुम्बिनी केवल ऐतिहासिक स्थल वा पर्यटकीय गन्तव्य मात्र होइन, जीवनमा कम्तीमा एकपटक पुग्न चाहने पवित्र तीर्थस्थल पनि हो। भगवान् बुद्धको जन्मस्थल पुगेर श्रद्धापूर्वक दण्डवत् प्रणाम गर्ने, ध्यान तथा साधना गर्ने, बुद्धवचन र धर्मसम्बन्धी मन्त्र पाठ गर्ने तथा आध्यात्मिक शान्तिको अनुभूति लिने चाहना विश्वभरका बौद्धमार्गीहरूमा छ। यस आस्थालाई सम्मान गर्दै तीर्थयात्रीका आवश्यकता पूरा गर्नु, धार्मिक गतिविधिलाई व्यवस्थित बनाउनु र लुम्बिनीको पवित्रता कायम राख्नु लुम्बिनी विकास कोषको महत्त्वपूर्ण दायित्व हो।
लुम्बिनी नेपालको आर्थिक समृद्धिको एउटा महत्त्वपूर्ण आधार हो। तर यसको विकासलाई पर्यटकको सङ्ख्या बढाउने विषयमा मात्र सीमित गर्नु हुँदैन। लुम्बिनीले विश्व समुदायमा कस्तो सन्देश प्रवाह गर्छ, यहाँ आउने तीर्थयात्रीले कस्तो अनुभव प्राप्त गर्छन् र उनीहरूलाई नेपालको शान्ति, संस्कृति तथा आतिथ्यबारे कस्तो अनुभूति हुन्छ भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण छन्। लाखौँ बौद्धमार्गीलाई आकर्षित गर्दै धार्मिक पर्यटनको दिगो विकास गर्न लुम्बिनीको आध्यात्मिक महत्त्व, सांस्कृतिक पहिचान र पर्यटकीय पूर्वाधारलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक छ।
लुम्बिनीप्रति विश्वभरका बौद्ध समुदायको आस्था छ भन्दैमा तीर्थयात्री आफैँ ठूलो सङ्ख्यामा आइरहन्छन् भन्ने अपेक्षा पर्याप्त हुँदैन। धार्मिक आस्थालाई व्यवस्थित पर्यटनमा रूपान्तरण गर्न योजनाबद्ध प्रचारप्रसार, अन्तर्राष्ट्रिय सहकार्य र सक्षम नेतृत्व आवश्यक हुन्छ। श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, चीन, भियतनाम, दक्षिण कोरिया र जापानलगायत दर्जनौं बौद्ध धर्मावलम्बीहरूको उल्लेख्य उपस्थिति रहेका मुलुकमा लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई प्रभावकारी रूपमा प्रचार गर्नुपर्छ। ती देशका बौद्ध विहार, धार्मिक सङ्घसंस्था, तीर्थयात्रा सञ्चालक, पर्यटन व्यवसायी र अन्तर्राष्ट्रिय बौद्ध संस्थाहरूसँग सहकार्य गरेर नियमित तीर्थयात्रा कार्यक्रम सञ्चालन गर्न सकिन्छ। यसबाट लुम्बिनीमा धार्मिक पर्यटकको आगमन बढाउनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याउन सकिन्छ।
यसका लागि लुम्बिनी विकास कोषको नेतृत्वले केवल औपचारिक जिम्मेवारी निर्वाह गरेर पुग्दैन। अन्तर्राष्ट्रिय बौद्ध समुदायसँग सम्बन्ध विस्तार गर्ने, प्रभावकारी प्रचारप्रसार गर्ने, तीर्थयात्रीका सुविधा सुधार गर्ने र लुम्बिनीलाई विश्वशान्तिको सन्देश प्रवाह गर्ने केन्द्रका रूपमा स्थापित गर्न सक्ने क्षमता आवश्यक हुन्छ। नेतृत्वले लुम्बिनीको धार्मिक गरिमा र व्यावसायिक व्यवस्थापनबीच सन्तुलन कायम गर्न सक्नुपर्छ। लुम्बिनीलाई विवाद, राजनीतिक खिचातानी र पद प्राप्तिको प्रतिस्पर्धाको केन्द्र बनाउनु हुँदैन। यस्तो प्रवृत्तिले लुम्बिनीको अन्तर्राष्ट्रिय प्रतिष्ठा र विकासको गतिलाई प्रभावित गर्न सक्छ। कोषमा नियुक्त हुने पदाधिकारीको मुख्य जिम्मेवारी पवित्र सम्पदाको संरक्षण, पर्यटकको सुविधा, स्थानीय जनताको हित र संस्थाको पारदर्शी व्यवस्थापन सुनिश्चित गर्नु हो। लुम्बिनीको गुरुयोजना कार्यान्वयन, पर्यटकको बसाइ अवधि वृद्धि, पर्यटक सन्तुष्टि, स्थानीय रोजगारी सिर्जना, सम्पदाको संरक्षण तथा प्रवर्द्धन, आन्तरिक आम्दानी वृद्धि, बजेटको प्रभावकारी कार्यान्वयन र स्थानीय समुदायको सहभागिता जस्ता विषयलाई सन्तुलित रूपमा अघि बढाउन सक्ने नेतृत्व आवश्यक छ।
लुम्बिनीको विकास कुनै एक व्यक्ति, समुदाय वा संस्थाको प्रतिष्ठासँग मात्र जोडिएको विषय होइन। यो नेपालको अन्तर्राष्ट्रिय पहिचान, बौद्ध सम्पदाको संरक्षण, धार्मिक पर्यटनको प्रवर्द्धन र विश्वशान्तिको सन्देशसँग सम्बन्धित साझा जिम्मेवारी हो। त्यसैले लुम्बिनी विकास कोषको नेतृत्वमा नियुक्त हुने व्यक्तिहरूको मूल्याङ्कन जात, धर्म, जन्म वा बाहिरी स्वरूपका आधारमा होइन, उनीहरूको योग्यता, क्षमता, योगदान, कार्ययोजना र सार्वजनिक जिम्मेवारी निर्वाह गर्ने सामर्थ्यका आधारमा हुनुपर्छ। आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर फरक विचार राख्न सकिन्छ, तर त्यसलाई धार्मिक वा जातीय विभाजनको विषय बनाउनु उचित हुँदैन। लुम्बिनीको गरिमा जोगाउने दायित्व सबैको हो। बुद्धको जन्मस्थललाई विवाद र द्वेषको केन्द्र बनाउनुको सट्टा करुणा, मैत्री, सहिष्णुता र सहकार्यको उदाहरण बनाउनु आजको आवश्यकता हो।
यसको पवित्रता, ऐतिहासिक महत्त्व र अन्तर्राष्ट्रिय प्रतिष्ठा कायम राख्न सबै पक्षले पूर्वाग्रह त्यागेर साझा उद्देश्यमा केन्द्रित हुनुपर्छ। लुम्बिनीको विकास, संरक्षण र प्रवर्द्धनमा सबै योग्य तथा सक्षम व्यक्तिका लागि सहभागिताको ढोका खुला हुनुपर्छ। यही दृष्टिकोणले बुद्धको शिक्षाको सम्मान हुने छ । धार्मिक सद्भावलाई बलियो बनाउने छ र लुम्बिनीलाई विश्वशान्तिको सन्देश प्रवाह गर्ने जीवन्त केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने छ।
श्याम रोक्का, पुर्व सदस्य लुम्बिनि विकास कोष