मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

एनपीएलमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भए वेस्ट इन्डिजका फाबियन एलन

आइतबार, कार्तिक ८ २०८३

काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।

सुदूरपश्चिमले आगामी सिजनका लागि ३१ वर्षीय एलनलाई अनुबन्ध गरेको हो। बायाँहाते ब्याटर तथा स्पिन बलर एलन ब्याटिङ र बलिङ दुवैबाट टोलीलाई योगदान दिन सक्ने अनुभवी टी–२० खेलाडी हुन्।

एलनले वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन्। उनले विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा समेत आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन्।

एलनको आगमनले सुदूरपश्चिमको टोली थप बलियो हुने अपेक्षा गरिएको छ। एनपीएलका अघिल्ला दुई संस्करणमा लिग चरणको शीर्ष स्थानमा रहँदै फाइनलसम्म पुगेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ।

तेस्रो संस्करणका लागि विदेशी खेलाडी अनुबन्ध गर्दै सुदूरपश्चिमले टोलीको सन्तुलन र प्रतिस्पर्धात्मक क्षमता बढाउने प्रयास गरेको छ।