काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा आज हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ। तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली हुने पूर्वानुमान छ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
राति तथा बिहानको समयमा तराईका साथै उपत्यका र खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। यसबाट विशेषगरी बिहानको समयमा सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।
त्यस्तै, सोमबार पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। सोमबार कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।