मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

बडादसैँ पर्व आजदेखि समापन हुँदै

आइतबार, कार्तिक ८ २०८३

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज साँझ धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर कोजाग्रत पूर्णिमा मनाइँदैछ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको १५ दिन लामो बडादसैँ पर्व कोजाग्रत पूर्णिमासँगै औपचारिक रूपमा समाप्त हुन्छ। नवरात्र र विजयादशमीको धार्मिक महत्त्वसँगै पूर्णिमाको रात महालक्ष्मीको पूजा आराधना र जाग्राम बस्ने परम्पराले यस पर्वलाई विशेष बनाएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्तिको काम पनि आजै सम्पन्न हुन्छ। अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रमसमेत समाप्त हुन्छ। आजै घरमा राखिएको जमरा नजिकका नदी, तलाउ, पोखरीलगायत पवित्र तीर्थस्थलमा लगेर विसर्जन गर्ने परम्परा छ।

समितिका अध्यक्ष सहप्राध्यापक पुरुषोत्तम भट्टराईका अनुसार कोजाग्रत पूर्णिमा महालक्ष्मीको पूजा आराधना र जाग्राम बस्ने धार्मिक विश्वाससँग जोडिएको पर्व हो। धार्मिक मान्यताअनुसार पूर्णिमाको साँझ महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने मानिसको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरेर धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन्।

माता दुर्गाका तीन प्रमुख रूपमध्ये एक महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदाइ गरिन्छ। नवरात्र विजयादशमीकै दिन समाप्त भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन पूरा हुने धार्मिक मान्यता छ।

लक्ष्मीपूजाको १५ दिनअघि नै महालक्ष्मीको आराधना गरिने भएकाले पनि कोजाग्रत पूर्णिमाको विशेष महत्त्व रहेको छ। यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ। परम्पराअनुसार आज राति जुवा खेल्ने चलनसमेत रहेको समितिका अध्यक्ष भट्टराईले बताएका छन्। यस दिन महालक्ष्मीसँगै हात्तीमा सवार इन्द्रको पनि पूजा गर्ने विधान छ।

यसैबीच, कार्तिक स्नान र तुलसीको विशेष पूजा आराधना भने कात्तिक ९ गते सोमबारदेखि सुरु हुने समितिबाट स्वीकृत पात्रोमा उल्लेख छ। आकाशदीपदान गर्ने परम्परा पनि सोही दिन साँझदेखि सुरु हुनेछ।