काठमाडौं । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरेर मान्यजनबाट आशीर्वाद लिन नेपालीहरू टाढाटाढाबाट यात्रा गरिरहेका छन्।
दसैँका अवसरमा सार्वजनिक यातायातमा यात्रुको चाप बाक्लो देखिएको छ भने तराईका क्षेत्रमा गर्मी अझै घटेको छैन।
बडादसैँको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। यस दिनलाई दसैँको टीका लगाउने विशेष दिनका रूपमा लिइन्छ। तर, टाढा रहेका माइती, मावली तथा आफन्तकहाँ विजयादशमीकै दिन पुगेर टीका थाप्न सम्भव नहुने भएकाले त्यसपछिका दिनमा पनि टीका लगाउने चलन छ।
परम्पराअनुसार दसैँको टीका लगाउने क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म चल्छ। दशमीका दिन टीका लगाउन नभ्याएका चेलीबेटी, आफन्त तथा परिवारका सदस्यहरू त्यसपछिका दिनमा मान्यजनकहाँ पुगेर टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने गर्छन्।
टाढा रहेका माइती–मावली तथा आफन्तकहाँ पुग्न समय लाग्ने भएकाले पूर्णिमासम्म टीका लगाउने परम्पराले पारिवारिक भेटघाटको अवसर जुटाउँछ। यस अवधिमा घरघरमा आफन्त आउने, टीका थाप्ने र आपसी सद्भाव साटासाट गर्ने क्रम जारी रहन्छ।