मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

सन् २०२७ को विश्वकप छनोट प्लेअफ नेपालमा हुने

बिहिबार, कार्तिक ५ २०८३

काठमाडौं । सन् २०२७ मा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन हुनेछ।

प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यस प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।

हालसम्म प्लेअफमा प्रतिस्पर्धा गर्ने आठमध्ये छ टोलीको टुङ्गो लागिसकेको छ। नेपाल, क्यानडा र संयुक्त अरब इमिरेट्स (यूएई) विश्वकप लिग–२ को अन्तिम चारमा रहने निश्चित भइसकेको छ। त्यस्तै, च्यालेन्ज लिग ‘बी’ बाट इटाली र युगान्डाले पनि प्लेअफमा स्थान बनाइसकेका छन्।

च्यालेन्ज लिग ‘ए’ बाट जर्सी छनोट हुने निश्चित भइसकेको छ भने कुवेतको स्थान पनि लगभग सुनिश्चित भएको छ। यद्यपि, प्रतियोगिताका केही खेल बाँकी रहेकाले कुवेतको औपचारिक टुङ्गो लाग्न बाँकी छ।

त्यसैगरी, लिग–२ बाट ओमान र नामिबियामध्ये एक टोली प्लेअफमा प्रवेश गर्नेछ। यसरी आठ टोलीको सहभागितामा प्रतियोगिता सञ्चालन हुनेछ।

विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच डिसेम्बर ९, ११ र १३ मा हुने तय भएको क्रिकेट शृङ्खलाको तालिका पनि परिवर्तन हुने भएको छ।

क्यानका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र क्यानबीचको आपसी समन्वय तथा सहमतिमा शृङ्खलाको नयाँ तालिका तय गरी सार्वजनिक गरिनेछ।