काठमाडौँ । नेपाल र बङ्गलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा आयोजना हुनेछन्।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपालमा हुने खेलहरू त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन गरिनेछन्।
आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल सहआयोजकका रूपमा सहभागी हुनेछ। प्रतियोगिताको समूह चरणमा नेपालले भारत, आयरल्यान्ड र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालमा अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना हुनुले महिला क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
