मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

एनपीएलको तेस्रो संस्करणमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुने

मंगलबार, कार्तिक ३ २०८३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रविधि प्रयोग हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत आगामी संस्करणमा डीआरएस प्रयोग गरिने जानकारी दिएको हो।

यसअघि क्यानका सचिव पारस खड्काले एनपीएलमा पहिलोपटक यो प्रविधि भित्र्याउने तयारी भइरहेको बताएका थिए। त्यसक्रममा दुई कम्पनीका प्रविधि परीक्षण गरिसकिएको र तिनको तथ्यपरकता मूल्यांकनपछि अन्तिम निर्णय गरिने उनले बताएका थिए।

डीआरएस क्रिकेटमा अम्पायरको निर्णय पुनरावलोकन गर्न प्रयोग गरिने प्रविधि हो। अम्पायरको निर्णयप्रति असन्तुष्टि भएमा खेलाडीले निर्धारित नियमअनुसार रिभ्यू माग गर्न सक्छन्। यसबाट गलत निर्णय सच्याउन र खेललाई थप निष्पक्ष बनाउन सहयोग पुग्ने अपेक्षा गरिन्छ।

क्यानका अनुसार एनपीएलमा एलबीडब्लु (लेग बिफोर विकेट) को निर्णय पुनरावलोकन गर्न पूर्ण थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग गरिनेछ। त्यसैगरी रनआउट, स्टम्पिङ र नो बलका निर्णय पनि रिभ्यू गर्न सकिने व्यवस्था हुनेछ।

यसका अतिरिक्त एआईको माध्यमबाट ब्याटमा बल लागेको वा नलागेको पहिचान अर्थात् एज डिटेक्सन प्रविधिसमेत प्रयोग गरिनेछ। वाइड बलको उचाइ, छक्का प्रहार गरिएको बलको दूरी तथा उचाइ मापन र अन्य बलिङसम्बन्धी विश्लेषणात्मक तथ्याङ्क पनि उपलब्ध हुने क्यानले जनाएको छ।

डीआरएसको प्रयोगले अम्पायरका निर्णय पुनरावलोकन गर्न सहज बनाउनुका साथै खेलको प्राविधिक पक्ष र निर्णय प्रक्रियालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।