काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको छ। सोमबार ओमानको अल अमेरातमा भएको खेलमा जित हासिल गरेसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ।
नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो।
ओमानका जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। नेपालका ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो। नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ८० रन बनाए। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ६९ र देव खनालले ५७ रनको योगदान दिए।
ओमानका शाह फैसलले ५ विकेट लिए पनि नेपालको स्कोर रोक्न सकेनन्।
ओमानविरुद्धको जितसँगै नेपालले विश्वकप लिग–२ को अंक तालिकामा शीर्ष ६ भित्र स्थान बनाउन सफल भएको छ। यस जितले नेपालको ओडीआई मान्यता जोगाउने सम्भावना सुनिश्चित गरेको छ।