मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

ओमानविरुद्ध नेपालको ब्याटिङ, ६ ओभरमा २० रन बनाउँदा एक विकेट गुम्यो

सोमबार, कार्तिक २ २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ।

ओमान क्रिकेट एकेडेमीमा भएको टसमा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले जित निकाल्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

ताजा अवस्थामा ६ ओभरको खेल सकिँदा नेपालले एक विकेट गुमाएर २० रन बनाएको छ।

नेपालले आजको खेलका लागि टोलीमा एक परिवर्तन गरेको छ। अर्जुन कुमालको स्थानमा देव खनाललाई प्लेइङ–११ मा समावेश गरिएको छ।

लिग–२ को अंकतालिकामा शीर्ष ६ भित्र रहन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। हाल ३५ खेलबाट २८ अंक जोडेको नेपाल सातौँ स्थानमा छ भने क्यानडा ३६ खेलमा २९ अंकसहित छैटौँ स्थानमा रहेको छ।

आज ओमानलाई पराजित गर्न सके नेपाल ३० अंकसहित अंकतालिकाको छैटौँ स्थानमा उक्लिनेछ। त्यससँगै नेपालले लिग–२ प्रतियोगिता छैटौँ स्थानमा रहेर टुंग्याउने अवसर पाउनेछ।

तर, ओमानसँग पराजित भए नेपालका लागि यस प्रतियोगितामा शीर्ष ६ मा रहने सम्भावना समाप्त हुनेछ। त्यसैले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता र विश्वकप छनोटको यात्राका दृष्टिले पनि यो खेल महत्त्वपूर्ण रहेको छ।