मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

कांग्रेस सभापति गगन थापाले लिए शपथ, दसैँपछि अन्य पदाधिकारीको शपथ

आइतबार, कार्तिक १ २०८३

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । पार्टीको १५औँ महाधिवेशनबाट भारी मतान्तरसहित सभापतिमा निर्वाचित थापाले शनिबार फूलपातीका दिन ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा आयोजित विशेष समारोहमा शपथ लिएका हुन् ।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले थापालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । सो अवसरमा थापालाई निर्वाचनको प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको थियो ।

शपथग्रहण समारोहमा ब्राह्मणहरूले स्वस्तिवाचन र वैदिक मन्त्रोच्चारण गरेका थिए । धार्मिक विधि र वैदिक मन्त्रोच्चारणका बीच खड्काले थापालाई शपथ गराएका हुन् ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १८ देखि काठमाडौंमा सुरु भएको निर्वाचन प्रक्रिया असोज २३ गते रातिदेखि मतगणनामा प्रवेश गरेको थियो । सात दिनसम्म चलेको मतगणना शुक्रबार सम्पन्न भएको थियो ।

सभापति पदको निर्वाचनमा थापाले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ठूलो मतान्तरले पराजित गरेका थिए । कुल सात हजार ३९ मत खसेकोमा थापाले ६ हजार ५८४ मत प्राप्त गरेका थिए । यो कुल खसेको मतको ९३.८८ प्रतिशत हो ।

थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति चयन भएको छ । संशोधित विधानअनुसार पार्टीको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ । त्यसमध्ये २३१ जना निर्वाचित भएका छन् भने बाँकी ६६ जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।

नयाँ कार्यसमितिमा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल, खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन् ।

त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिलातर्फ डा. डिला संग्रौला निर्वाचित भएका छन् । विभिन्न समावेशी समूहबाट ११ जना सहमहामन्त्री निर्वाचित भएका छन् भने बाँकी चार जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।

सभापति थापाले शपथ लिए पनि अन्य निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण भने दसैँपछि मात्रै हुने भएको छ । पार्टीले बाँकी पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम बडादसैँपछि आयोजना गर्ने तयारी गरेको छ ।

यसैबीच, सभापति थापाले आन्तरिक प्रतिस्पर्धामा पराजित भएका तथा प्रतिस्पर्धामा सहभागी नभएका योग्य नेताहरूलाई समेत समेटेर पार्टीलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै उनले आन्तरिक निर्वाचनलाई जित र हारको अन्तिम मानक बनाउन नहुने बताएका थिए ।

केन्द्रीय कार्यसमितिलाई प्रभावकारी बनाउन सबै योग्य नेताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै थापाले सामूहिक नेतृत्व र सहकार्यका आधारमा पार्टी सञ्चालन गर्ने बताएका छन् ।

थापाले सामाजिक सञ्जाल र एल्गोरिदमको बढ्दो प्रभावले विश्व राजनीतिमा परिवर्तन ल्याइरहेको टिप्पणीसमेत गरेका छन् । परम्परागत राजनीतिक दलप्रति जनताको विश्वास घट्दै गएको र आक्रामक तथा विवादास्पद सामग्रीले निर्वाचनमा प्रभाव पारिरहेको उनको भनाइ थियो ।

थापाको सभापतिमा निर्वाचित भएसँगै कांग्रेसको नेतृत्वमा नयाँ पुस्ताको आगमन भएको छ । अब नयाँ नेतृत्वले पार्टीभित्रको एकता कायम गर्दै संगठनलाई गतिशील बनाउने, आन्तरिक प्रतिस्पर्धाबाट उत्पन्न असन्तुष्टि सम्बोधन गर्ने र पार्टीलाई प्रभावकारी रूपमा अघि बढाउने चुनौती सामना गर्नुपर्नेछ ।