मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

दसैँको शुभकामना दिँदै प्रधानमन्त्रीले भने– विपद् प्रभावितको पुनःस्थापना सरकारको प्राथमिकता

शनिबार, असोज ३१ २०८३

काठमाडौं । प्रधानमन्त्रीले बडादसैँको शुभकामना सन्देश जारी गर्दै विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले विपद्बाट विस्थापित नागरिकको पुनःस्थापना, आर्थिक समृद्धि र सुशासनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्।

रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएका विनाशकारी घटनाको शोक ताजा रहेकै बेला दसैँ आएको उल्लेख गर्दै प्रधानमन्त्रीले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका हुन्।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘ज्यान गुमाउनुभएकाहरूको चिरात्माको शान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु। सिङ्गो देशका तर्फबाट शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’

विपद्बाट प्रभावित तथा विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रभावित नागरिकलाई राहत र पुनःस्थापनाको आश्वासन दिएका छन्।

प्रधानमन्त्रीले बडादसैँलाई धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्व बोकेको एकता तथा आत्मीयताको पर्वका रूपमा चित्रण गरेका छन्। परिवार र आफन्तसँग भेटघाट गर्ने, ठूलाबडाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्पराले नेपाली समाजमा पारिवारिक सम्बन्ध र सांस्कृतिक मूल्यलाई बलियो बनाएको उनको भनाइ छ।

दसैँले आपसी सद्भाव, सहिष्णुता, एकता र भाइचाराको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले सबै नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।