मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी आक्रमण, पाँच जनाको मृत्यु

शुक्रबार, असोज ३० २०८३

एजेन्सी । यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहले गरेको आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

यमन सरकारले दिएको जानकारीअनुसार मृत्यु हुने र घाइते हुनेमा राष्ट्रपतिको कार्यालय परिसरमा कार्यरत सुरक्षाकर्मी तथा सर्वसाधारण कर्मचारी रहेका छन् ।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमन सरकारको अस्थायी मुख्यालय रहेको अल–माशिक राष्ट्रपतिको कार्यालय परिसरलाई लक्षित गरी आक्रमण गरिएको हो ।

यसअघि बिहीबार स्थानीय सुरक्षा अधिकारीले चिनियाँ समाचार संस्था सिन्ह्वालाई दिएको जानकारीअनुसार उक्त परिसरमा पाँचवटा क्षेप्यास्त्र प्रहार गरिएको थियो । एडेनको अल–बुराइका क्षेत्रमा रहेको साउदी नेतृत्वको गठबन्धन सेनाको मुख्यालयलाई पनि निशाना बनाइएको थियो ।

आक्रमणका क्रममा एडेनमा ठूलो विस्फोटको आवाज सुनिएको थियो भने राष्ट्रपतिको कार्यालय आसपास धुवाँ उठेको सिन्ह्वाका घटनास्थलमा रहेका संवाददाताले जनाएका छन् ।

स्थानीय स्रोतका अनुसार हुथी समूहसँग लड्न साउदी समर्थित सरकारी सेनालाई तयार पार्ने उद्देश्यले हालै राष्ट्रपतिको कार्यालय परिसरमा उच्चस्तरीय बैठकहरू भएका थिए ।

हुथी समूहका सैन्य प्रवक्ता याह्या सरियाले एडेनस्थित ‘साउदी सैन्य कारबाही मुख्यालय’ लाई निशाना बनाइएको बताएका छन् । यद्यपि, उनले उक्त मुख्यालयको ठ्याक्कै स्थान भने खुलाएका छैनन् ।

हुथी समूहद्वारा सञ्चालित अल–मसिरा टेलिभिजनले पछि एक हुथी सैन्य नेताको भनाइ उद्धृत गर्दै राष्ट्रपतिको कार्यालय परिसरभित्र साउदी अधिकारीहरूले सञ्चालन गरेको सैन्य कारबाही मुख्यालयमा गरिएको आक्रमणमा साउदी सैन्य अधिकारीहरू मारिएको वा घाइते भएको जनाएको छ ।

यमनमा हुथी विद्रोही र साउदी समर्थित सरकारी पक्षबीच लामो समयदेखि द्वन्द्व जारी छ । एडेनमा भएको पछिल्लो आक्रमणले सरकारी पक्ष र साउदी नेतृत्वको गठबन्धनसँग सम्बन्धित सैन्य संरचनाको सुरक्षाबारे पुनः प्रश्न उठाएको छ ।