मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रा केही दशक पछाडि धकेलियो : अध्यक्ष ओली

शुक्रबार, असोज ३० २०८३

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्लो समय धक्का लागेको बताएका छन् । पछिल्ला राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेले पनि त्यसलाई असफलता वा पराजयका रूपमा लिन नहुने उनको भनाइ छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै ओलीले आफ्नो कार्यकालमा अघि सारिएका सामाजिक सुधारका कार्यक्रमलाई समाजवादउन्मुख राज्य निर्माणका प्रयासका रूपमा व्याख्या गरे ।

उनले सडक बालबालिकाको उद्धार तथा व्यवस्थापन, सहयोगापेक्षी सडक मानवको संरक्षण र सडकमा भिक्षा माग्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयासलाई नागरिकप्रति जिम्मेवार सरकारको अवधारणासँग जोडे ।

ओलीले ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य बीमा तथा बालबालिकाका लागि सञ्चालन गरिएको ‘खोलौँ खाता’ अभियानलगायत कार्यक्रमलाई मानवतावादी सोचबाट प्रेरित सामाजिक सुरक्षाका पहलका रूपमा चर्चा गरे । शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका व्यक्ति, असहाय, बेसहारा तथा ज्येष्ठ नागरिकको संरक्षण गर्नु राज्यको दायित्व भएको उनले बताए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्त गर्ने क्रममा सामाजिक क्षेत्रमा विभिन्न काम गरिएको उल्लेख गर्दै ओलीले पछिल्ला घटनाक्रमले लक्ष्य प्राप्तिको यात्रा पछाडि धकेलिए पनि त्यसलाई हारका रूपमा लिन नहुने बताए ।

सरकारको जिम्मेवारी हिसाबकिताब र जवाफदेहितामा मात्र सीमित नहुने उल्लेख गर्दै उनले नागरिकप्रति आत्मीयता र संवेदनशीलताका साथ प्रस्तुत हुनुपर्ने धारणा राखे । आमाले आफ्ना सन्तानको हेरचाह गरेझैँ सरकारले पनि नागरिकको संरक्षण र कल्याणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

आफ्नो कार्यकालमा भएका विकास निर्माण तथा सामाजिक कार्यमाथि हुने आलोचनाको प्रसङ्ग उल्लेख गर्दै ओलीले नागढुङ्गा क्षेत्रमा राखिएको साइनबोर्डसम्बन्धी विवादलाई सामान्य प्राविधिक विषयका रूपमा व्याख्या गरे । साइनबोर्ड हटाउँदैमा आफूहरूले गरेका सामाजिक कामको महत्त्व र त्यसले समाजमा पारेको प्रभाव समाप्त नहुने उनको तर्क थियो ।

समृद्धिको यात्राबारे धारणा राख्दै ओलीले नागरिकलाई सुखी बनाउन पहिले उनीहरूका दुःख निवारण गर्नुपर्नेमा जोड दिए । गरिबी, अभाव र असहाय अवस्थाको अन्त्य गर्दै नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने वातावरण निर्माण गर्नु नै समृद्धिको आधार भएको उनले बताए ।

‘सुखी नेपाली बनाउने हो भने पहिले जनताका दुःख निवारण गर्नुपर्छ । गरिबी, अभाव र असहाय अवस्थाको अन्त्य गर्दै नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने वातावरण बनाउनुपर्छ,’ ओलीले भने, ‘पहिले दुःख निवारण, त्यसपछि सुख प्राप्ति—यही सोचका साथ हामीले सामाजिक न्याय र समृद्धिको बाटो अघि बढाएका थियौँ ।’