मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

लिग २ मा नेपालले आज ओमानसँग खेल्दै, ओडीआई मान्यता जोगाउने चुनौती

मंगलबार, असोज २७ २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

अल अमेरतस्थित अल अमेरत क्रिकेट ग्राउन्डको मिनिस्ट्री टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

नेपालले आइतबार भएको पहिलो खेलमा क्यानडालाई पराजित गरेको थियो। उक्त खेलमा नेपाली ब्याटर रोहित पौडेलले शतक प्रहार गरेका थिए। यसअघि शुक्रबार भएको खेलमा आयोजक ओमानले पनि क्यानडालाई हराएको थियो।

ओमानले क्यानडालाई पराजित गरेसँगै लिग २ को शीर्ष चारमा रहेर विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना समाप्त भएको छ। अब नेपालको मुख्य ध्यान एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने र लिग २ को अन्तिम वरीयता सुधार गर्नेमा केन्द्रित छ।

लिग २ को अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ। क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा झरेको छ। ओमान भने २९ खेलबाट ३३ अंक जोड्दै तालिकाको माथिल्लो स्थानमा रहेको छ।

लिग २ को शीर्ष चारमा पर्ने सम्भावना समाप्त भएपछि नेपालले एकदिवसीय विश्वकप छनोटको यात्रा अघि बढाउन प्लेअफ खेल्नुपर्नेछ। प्लेअफमा नेपालसँगै नामिबिया, क्यानडा र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी हुनेछन्।

नेपालले लिग २ को अन्त्य पाँचौँ वा छैटौँ स्थानमा रहेर गर्न सक्नेछ। यद्यपि, छैटौँ स्थानसम्म रहेमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिने विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को स्पष्ट प्रावधान सार्वजनिक भइसकेको छैन। त्यसैले नेपालका लागि बाँकी खेलमा राम्रो प्रदर्शन गर्दै अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउनु महत्त्वपूर्ण हुनेछ।