काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका क्रममा काठमाडौंको खुलामञ्चमा गम्भीर क्षति नपुगेको दाबी गर्दै भ्रामक प्रचारको पछि नलाग्न आग्रह गरेको छ।
केही सञ्चारमाध्यममा खुलामञ्च पूर्ण रूपमा ध्वस्त भएको आशयका समाचार प्रसारण भएपछि कांग्रेसका वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले सोमबार अपराह्न खुलामञ्चको निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा खिचिएको प्रत्यक्ष भिडियो सार्वजनिक गर्दै उनले त्यस्ता दाबीको खण्डन गरेका हुन्।
महाधिवेशनमा हजारौँ मानिसको उपस्थिति तथा मञ्च र हल निर्माणका क्रममा सामान्य क्षति हुनु स्वाभाविक भए पनि बाहिर प्रचार गरिएजस्तो गम्भीर क्षति नभएको शर्माले स्पष्ट पारेका छन्।
महाधिवेशनका लागि खुलामञ्च प्रयोग गर्ने अनुमति लिने क्रममा काठमाडौं महानगरपालिकासँग लिखित सम्झौता र प्रतिबद्धता गरिएको स्मरण गराउँदै उनले सार्वजनिक सम्पत्तिको संरक्षणमा पार्टी सचेत रहेको बताए।
महाधिवेशनका क्रममा भएको सामान्य क्षतिसमेत पार्टीकै खर्चमा मर्मतसम्भार गरेर खुलामञ्चलाई पूर्ववत् अवस्थामा फर्काई महानगरपालिकालाई हस्तान्तरण गरिने शर्माले बताएका छन्।
“सार्वजनिक सम्पत्तिको उपयोग गर्नेले त्यसको मर्मतसम्भार र स्याहार गर्ने जिम्मेवारी पनि निर्वाह गर्नुपर्छ भन्नेमा हामी एकदम प्रस्ट छौँ,” शर्माले भने, “यसबारे महानगरलाई पहिले नै औपचारिक जानकारी गराइसकिएको छ।”
कांग्रेसले खुलामञ्चको सरसफाइ र आवश्यक सामान्य मर्मत कार्य तत्काल पूरा गर्ने प्रतिबद्धतासमेत जनाएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा भएको थियो। असोज २४ गतेदेखि भने पार्टीको मतगणना केन्द्रीय कार्यालय बीपी नगर, सानेपामा भइरहेको छ।