काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको मुहार फेरिन थालेको छ।
आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म आयोजना हुने देशकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई लक्षित गरी मैदान स्तरोन्नति, दर्शक प्यारापिटमा नयाँ कुर्सी जडान, पिच तथा आउटफिल्डको व्यवस्थापन र प्रवेशद्वार निर्माणको काम तीव्र गतिमा भइरहेको छ।
एनपीएल सुरु हुनुअघि नै मैदानको प्यारापिटमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार पहेँलो, रातो, सुन्तला र सेतो रङका हजारौँ बकेट सिट जडान गरिएका छन्। मैदानको गोलाइअनुसार व्यवस्थित रूपमा मिलाइएका यी सिटले रंगशालाको स्वरूपलाई थप आकर्षक बनाएका छन्।
क्यान स्रोतका अनुसार प्रत्येक सिटलाई निश्चित नम्बरिङ गरी दर्शकले सहजै आफ्नो स्थान पहिचान गर्न सक्ने व्यवस्था मिलाइँदैछ। यसबाट दर्शकबीच हुने अव्यवस्था र धकेलाधकेल कम हुनुका साथै सुरक्षित वातावरणमा खेल अवलोकन गर्न सहज हुने अपेक्षा गरिएको छ।
टी–२० क्रिकेटमा चौका र छक्कासहित तीव्र गतिको खेल हुने भएकाले त्रिवि मैदानको पिच स्क्वायर र आउटफिल्डको व्यवस्थापनमा विशेष ध्यान दिइएको छ। स्थानीय क्युरेटर तथा मैदानकर्मी बिहानैदेखि स्वचालित लनमोवरबाट घाँसको लम्बाइ मिलाउने र रोलर प्रयोग गरी पिचको कडापन कायम गर्ने काममा जुटेका छन्।
आउटफिल्डमा आवश्यक मात्रामा पानी तथा मलखाद प्रयोग गरी घाँसलाई व्यवस्थित गरिएको छ। यसले खेलाडीलाई बाउन्ड्री नजिक डाइभ गर्दा चोटपटकको जोखिम कम गर्नुका साथै बलले जमिन छोएपछि तीव्र गतिमा सीमारेखा पार गर्ने किसिमको आउटफिल्ड तयार गर्न सहयोग पुग्ने प्राविधिक टोलीले जनाएको छ।
मैदान परिसरमा पूर्वाधार निर्माणको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ। नयाँ दर्शक मञ्च, खेलाडी प्रवेश मार्ग तथा अन्य संरचनाको जग निर्माण भइरहेको छ। फलामका ट्रस तथा बिम जडान गरी अन्तर्राष्ट्रिय कमेन्ट्री बक्स, प्रत्यक्ष टेलिभिजन प्रसारणका लागि क्यामेरा प्लेटफर्म तथा विशिष्ट अतिथि लाउन्ज निर्माणलाई समेत अन्तिम रूप दिइँदैछ।
विदेशी कमेन्टेटर तथा टेलिभिजन प्राविधिकका लागि वातानुकूलित र आधुनिक प्रविधियुक्त कार्यकक्ष निर्माणको तयारीसमेत भइरहेको छ।
मैदानभित्र मात्र नभई कीर्तिपुर जाने सडकमा समेत एनपीएलको माहोल देखिन थालेको छ। काठमाडौँबाट त्रिवि मैदानतर्फ जाने मुख्य सडकमा एक्सट्रिम इनर्जी ड्रिंक, ओमोडा–जाइकु लगायतका मुख्य प्रायोजक तथा विभिन्न फ्रेन्चाइज टोलीका खेलाडीको तस्बिरसहितका स्वागतद्वार निर्माण गरिएका छन्।
सडकका बिजुलीका पोलमा एनपीएलका ब्यानर तथा प्रचार सामग्री राख्ने कामसमेत भइरहेको छ। यसले स्थानीय बासिन्दा तथा क्रिकेट समर्थकमाझ प्रतियोगिताको उत्साह बढाएको छ।
प्रतियोगिता अवधिमा ठूलो सङ्ख्यामा दर्शक मैदानमा आउने सम्भावनालाई ध्यानमा राख्दै नेपाल प्रहरी र आयोजकले सुरक्षा योजना पनि तयार पारेका छन्। मैदान परिसरमा सीसीटीभी क्यामेरा, मेटल डिटेक्टर तथा सुरक्षा जाँच चौकी राखिनेछन्।
दर्शकका लागि डिजिटल टिकटको व्यवस्था गरिनेछ। डिजिटल टिकटमार्फत दर्शकले आफूलाई तोकिएको प्रवेशद्वार तथा सिट नम्बर सहजै पहिचान गर्न सक्नेछन्। सवारीसाधन पार्किङका लागि कीर्तिपुर क्षेत्रका विभिन्न खुला स्थानसमेत निर्धारण गरिनेछ।
आगामी कात्तिक ९ गते उद्घाटन खेलसँगै सुरु हुने एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिक विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।