काठमाडौँ । नेपाली कांग्रेसको संशोधित विधान पारित भएसँगै नयाँ व्यवस्थाअनुसार उम्मेदवारी मनोनयनको तालिका सार्वजनिक गरिएको छ। तालिकाअनुसार मंगलबार बिहान १० बजेदेखि उम्मेदवारी फारम वितरण सुरु हुनेछ भने मनोनयन दर्ताका लागि दिउँसो १२ः३० देखि ४ बजेसम्मको समय तोकिएको छ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार उम्मेदवारी मनोनयनका लागि फारम वितरण बिहान १० बजेदेखि सुरु हुनेछ। त्यसअघि बिहान ९ः३० बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोधको समय तोकिएको छ।
दाबी–विरोधपछि बिहान १०ः३० बजेसम्म उजुरीमाथि जाँचबुझ गरिनेछ भने बिहान ११ः३० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
फारम वितरण बिहान १० बजेदेखि नै सुरु भए पनि उम्मेदवारी मनोनयन दर्ता भने दिउँसो १२ः३० देखि ४ बजेसम्म मात्र गर्न पाइनेछ।
संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। जसमा एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति र तीन महामन्त्री रहने व्यवस्था गरिएको छ। चार उपसभापतिमध्ये एक जना तथा तीन महामन्त्रीमध्ये एक जना महिला अनिवार्य गरिएको छ। त्यस्तै, १५ जना सहमहामन्त्री रहनेछन्।
कोषाध्यक्ष भने केन्द्रीय सदस्यमध्येबाट मनोनीत हुने व्यवस्था छ। केन्द्रीय सदस्यतर्फ खुलाबाट ४५, महिलाबाट १५ तथा प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना निर्वाचित हुनेछन्। काठमाडौँ उपत्यकाबाट एक महिलासहित दुई जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।
समावेशीतर्फ दलितबाट पाँच महिलासहित १४, आदिवासी जनजातिबाट आठ महिलासहित २०, खस आर्यबाट आठ महिलासहित १८ र मधेसीबाट पाँच महिलासहित १३ जना केन्द्रीय सदस्य रहनेछन्।
त्यस्तै, जनसम्पर्क समितिबाट दुई महिलासहित सात, पिछडिएको वर्गबाट तीन, थारूबाट दुई महिलासहित छ, श्रमिकबाट एक महिलासहित तीन तथा पेसागत विज्ञबाट दुई महिलासहित सात जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।
सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा, अपाङ्गता भएका व्यक्तिबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य रहनेछन्।
यसका अतिरिक्त केन्द्रीय कार्यसमितिले ६६ जना सदस्य मनोनीत गर्ने व्यवस्था संशोधित विधानमा गरिएको छ।