मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

कांग्रेस महाधिवेशनमा उम्मेदवारको प्रचारप्रसारमा कडाइ, चारबुँदे आचारसंहिता जारी

शनिबार, असोज १७ २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदका उम्मेदवारले गर्ने प्रचारप्रसारमा कडाइ गरिएको छ ।

राष्ट्रिय संवेदना र वातावरणीय पक्षलाई ध्यानमा राख्दै निर्वाचन समितिले कडा आचारसंहिता जारी गरेको हो । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार महाधिवेशनलाई अनुशासित, मर्यादित र मितव्ययी बनाउन प्रचारप्रसारमा विभिन्न प्रतिबन्ध लगाइएको छ ।

निर्वाचन समितिले आचारसंहिताको पूर्ण पालना गर्दै विपद्को घडीमा देश र जनताप्रतिको दायित्वबोधका साथ महाधिवेशन सम्पन्न गर्न नेता, कार्यकर्ता, उम्मेदवार तथा शुभेच्छुकलाई अपिल गरेको छ । आचारसंहिता उल्लङ्घन भएमा नियमानुसार कारबाही गर्ने चेतावनीसमेत समितिले दिएको छ ।

निर्वाचन समितिले उम्मेदवारको प्रचारप्रसारका लागि चार मुख्य व्यवस्था गरेको छ ।

१. तडकभडक र भड्किलो प्रचारमा रोक
विपद्पछिको परिस्थितिलाई सम्मान गर्दै महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन जुनसुकै प्रकारका भड्किला प्रचार अभियानलाई पूर्ण रूपमा निषेध गरिएको छ ।

२. प्रिन्ट तथा भौतिक प्रचार सामग्रीमा प्रतिबन्ध
महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायत कुनै पनि प्रकारका छापिएका प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न रोक लगाइएको छ ।

३. महाधिवेशन स्थल बाहिर प्रचार गर्न निषेध
महाधिवेशन स्थलको बाहिरी परिसर, सार्वजनिक सडक तथा आसपासका क्षेत्रमा कुनै पनि प्रकृतिका भौतिक प्रचार सामग्री राख्न वा प्रदर्शन गर्न पाइने छैन ।

४. डिजिटल माध्यमबाट मात्रै प्रचारप्रसार
उम्मेदवारले प्रचारप्रसारका लागि डिजिटल तथा प्रविधिमैत्री माध्यम प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । भौतिक सामग्रीको प्रयोग नगरी सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमबाट प्रचार गर्न सकिने निर्वाचन समितिले जनाएको छ ।