गरगहना व्यवसायमा २५ वर्षदेखि सक्रिय हिमालयन बुलियन कम्पनी लिमिटेडले आफ्ना ग्राहकको सुरक्षालाई लक्षित गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ।
कम्पनीले २०८३ सालको बडादशैंको घटस्थापनादेखि आफ्ना ग्राहकलाई वर्गीकरणका आधारमा १ लाखदेखि १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराउने जनाएको छ । सम्झौताअनुसार हिमालयन बुलियनका ग्राहकलाई तीन तहमा वर्गीकरण गरी बीमा सुविधा प्रदान गरिनेछ । जसअनुसार सिल्भर वर्गका ग्राहकलाई अधिकतम एक लाख रुपैयाँ, गोल्ड वर्गका ग्राहकलाई अधिकतम पाँच लाख रुपैयाँ र डायमन्ड वर्गका ग्राहकलाई अधिकतम १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध हुनेछ।
हिमालयन बुलियनले ग्राहकको सुरक्षा र लगानीलाई प्राथमिकतामा राख्दै व्यवसाय गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार ग्राहकको सुरक्षालाई थप व्यवस्थित र सुनिश्चित गर्ने उद्देश्यले सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँग उक्त सम्झौता गरिएको हो।
कम्पनीले आगामी बडादशैंको घटस्थापनादेखि नै सम्झौताअनुसार ग्राहकको दुर्घटना बीमा सुविधा लागू हुने जनाएको छ।