मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

महालक्ष्मी विकास बैंक र रोटरीबीच शिक्षा तथा साक्षरतामा सहकार्य

सोमबार, असोज १२ २०८३

महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२–आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत रोटरी क्लबहरूमार्फत सामुदायिक तथा सार्वजनिक विद्यालयमा सञ्चालन हुने विभिन्न शैक्षिक तथा पूर्वाधार विकाससम्बन्धी परियोजनाका लागि वित्तीय सहयोग उपलब्ध गराउनेछ । सहकार्यअन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धन र कम्प्युटर ल्याब स्थापना लगायत आधारभूत शिक्षा तथा विद्यालयको शैक्षिक वातावरण सुधारमा केन्द्रित परियोजनामा बैंकले सहयोग गर्नेछ ।

बैंकका अनुसार उक्त सहकार्यले सामुदायिक तथा सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ वातावरण, स्वच्छता तथा डिजिटल पहुँच सुधारमा योगदान पुग्नेछ । बैंकले शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

समाजप्रतिको दायित्व निर्वाह गर्ने क्रममा बैंकले हालै भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग समेत गरेको जनाएको छ ।