मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

सुरक्षाको थप व्यवस्था मिलाइदिन पूर्वप्रधानन्यायाधीश जबराको प्रहरीसँग आग्रह

सोमबार, असोज १२ २०८३

काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू तथा आफ्नो परिवारको जीउज्यानमा गम्भीर सुरक्षा चुनौती रहेको भन्दै थप सुरक्षा व्यवस्था मिलाइदिन प्रहरीसँग आग्रह गरेका छन् ।

जबराका छोरा सचिन्द्रशमशेर जबराले सोमबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिँदै निवास तथा परिवारको सुरक्षाका लागि राज्यको सम्पूर्ण ध्यान पुग्नुपर्ने माग गरेका हुन् ।

निवेदनमा पछिल्लो समय देशको अवस्था, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका शान्ति सुरक्षासम्बन्धी विषयका कारण आफ्नो परिवारले सुरक्षामा गम्भीर चुनौती महसुस गरिरहेको उल्लेख छ । विगतमा राज्यका विभिन्न अंगमा बहन गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखको हैसियतमा गरेका न्यायिक निर्णयका कारण आफूले थप असुरक्षा महसुस गरेको पनि निवेदनमा जनाइएको छ ।

जबराले केही समयअघि प्रहरी कार्यालयमा आएपछि आफूले सुरक्षासम्बन्धी विषयमा जानकारी पाएको उल्लेख गर्दै निवास तथा परिवारको सुरक्षामा विशेष ध्यान दिन प्रहरीसँग अनुरोध गरेका छन् ।

यसअघि जबरालाई प्रहरीले पक्राउ गरी करिब १२ घण्टा नियन्त्रणमा राखेको थियो । प्रहरी नियन्त्रणबाट मुक्त भएपछि उनको तर्फबाट छोरा सचिन्द्रशमशेरले प्रहरी कार्यालयमा सुरक्षा माग गर्दै निवेदन दर्ता गराएका हुन् ।