काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा निवासबाट पक्राउ गरिएको विषयमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग सदस्य विष्णु रिजालले आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै रिजालले प्रधानन्यायाधीश भइसकेका व्यक्तिलाई मध्यरातमा घरबाट लगिएको घटनालाई लिएर प्रश्न उठाएका हुन्।
रिजालले जबरालाई ‘अपहरणको शैलीमा’ घरबाट लगिएको दाबी गर्दै यसलाई ‘राज्य–आतंकको पराकाष्ठा’ भनेका छन्। साथै, पक्राउपछि ‘उहाँकै सुरक्षाका लागि’ भन्ने स्पष्टीकरण दिइए त्यसको औचित्यमाथि समेत उनले प्रश्न गरेका छन्।
उनले सुरक्षा ‘थ्रेट’ को तर्कप्रति प्रश्न गर्दै भनेका छन्, ‘सबैभन्दा बढी थ्रेट त प्रधानमन्त्री बालेन्द्र शाहलाई होला। त्यसो भए अब उहाँलाई प्रहरीले हरेक राति चौकीमा लगेर राख्छ त?’
रिजालले राज्य सञ्चालन ‘सनक, आशंका र षड्यन्त्रको मनोविज्ञान’ बाट गर्नु विनाशको बाटो भएको टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई रोक्नुपर्ने भन्दै त्यसका लागि छिटो कदम चाल्नसमेत आग्रह गरेका छन्।
पूर्वप्रधानन्यायाधीश जबरालाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो।
हालसम्म प्रहरीले जबरालाई कुन कसुरमा पक्राउ गरिएको हो र पक्राउको कानुनी आधार के हो भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन।