काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमा छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था तथा तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आज सार्वजनिक गरेको सूचनाअनुसार चार वटा लघुवित्तलाई न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेको भन्दै शीघ्र सुधारात्मक कारबाही गरिएको छ भने दुई संस्थालाई अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै नगद जरिवाना गरिएको छ।
राष्ट्र बैंकका अनुसार फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत मात्रै कायम गरेको थियो। नियामकीय मापदण्डअनुसार पुँजीकोष अनुपात कायम नगरेको भन्दै उक्त संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३(क) बमोजिम कारबाही गरिएको हो।
त्यस्तै, धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि २०८२ असार मसान्तमा ६.३८ प्रतिशत मात्रै न्यूनतम पुँजीकोष अनुपात कायम गरेको पाइएपछि विनियम ३(क) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।
मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले ४.०८ प्रतिशत मात्रै न्यूनतम पुँजीकोष अनुपात कायम गरेकाले विनियम ३(ख) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको छ।
यस्तै, एनआइसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६.३९ प्रतिशत मात्रै न्यूनतम पुँजीकोष अनुपात कायम गरेकाले विनियम ३(क) बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी, वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८२ चैतमा अनिवार्य नगद मौज्दात कायम नगरेको पाइएपछि पहिलो पटकका लागि रु. ५८.३८ नगद जरिवाना गरिएको छ।
सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई भने २०८२ चैत तथा २०८३ वैशाख, जेठ र असारमा अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै क्रमशः रु. ७१३.८८, रु. १ हजार ६७.४०, रु. १ हजार ४१२.९१ र रु. १ हजार ४१०.७८ नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।