काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४० लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ ।
महासंघले सुनचाँदी, रत्न तथा आभूषण व्यवसायमा आबद्ध व्यवसायीबाट स्वेच्छिक रूपमा संकलन गरेको रु. ४० लाख ५ हजार ५ सय ५५ को सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
महासंघका अनुसार भदौ १० गते आएको बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट देशका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले भदौ १५ गते बसेको आकस्मिक अनलाइन बैठकले आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको थियो ।
संकलित रकममध्ये उक्त रकम महासंघका संघ, प्रदेश समन्वय तथा राहत संकलन समितिका संयोजक एवं महासचिव निरबहादुर विश्वकर्माको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । रकम सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको चेकमार्फत हस्तान्तरण गरिएको महासंघले जनाएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्मा, सचिव केशरबहादुर विश्वकर्मा, कोषाध्यक्ष गणेशप्रसाद विश्वकर्मा, कार्यसमिति सदस्य त्रिलोचन विश्वकर्मा र कार्यालय प्रमुख राम महर्जनको उपस्थिति थियो । कार्यक्रममा रत्न व्यवसायी संघ नेपालका अध्यक्ष कृष्ण हमाल तथा नेपाल सुनचाँदी राष्ट्रिय व्यवसायी मञ्चका अध्यक्ष खेम तिरुवासमेत सहभागी थिए ।
महासंघले संकलित बाँकी रकममा आफ्नो कोषबाट समेत थप गरी विपद्बाट प्रभावित सुनचाँदी तथा आभूषण व्यवसायी, कालिगढ तथा पीडित परिवारलाई अवस्था र आवश्यकताका आधारमा प्रत्यक्ष राहत उपलब्ध गराउने जनाएको छ ।
महासंघले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग, राहत तथा पुनःस्थापनाका कार्यमा सामाजिक उत्तरदायित्वअनुसार सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।