मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन ४७ प्रतिशतले घट्यो

आइतबार, असोज ४ २०८३

मुस्ताङ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढी तथा विपद्को घटनापछि हिमाली जिल्ला मुस्ताङको पर्यटन क्षेत्रमा समेत असर परेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनको तुलनामा भदौमा मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा घटेको हो।

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक बाढी, पहिरो र नदी कटानका कारण साउनमा पटक–पटक अवरुद्ध भए पनि पर्यटक आगमन उल्लेख्य थियो। तर, रसुवाको बाढीपछि भदौमा पर्यटकको सङ्ख्या ह्वात्तै घटेको प्रहरीको तथ्याङ्कले देखाएको छ।

प्रहरीका अनुसार साउनको तुलनामा भदौमा मुस्ताङ आउने पर्यटकको सङ्ख्या २९ हजार २७४ ले घटेको छ। यो अघिल्लो महिनाको तुलनामा ४७.७८ प्रतिशत कमी हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङअन्तर्गत म्याग्दी–मुस्ताङ सीमा क्षेत्रमा रहेको घाँसा प्रहरी चौकीको तथ्याङ्कअनुसार साउनमा आन्तरिक ३० हजार ६५५, सार्क राष्ट्रका ३१ हजार ५७५ र अन्य मुलुकका १९३ गरी कुल ६१ हजार २६३ पर्यटक मुस्ताङ पुगेका थिए।

भदौमा भने आन्तरिक १६ हजार ५०३, सार्क राष्ट्रका १५ हजार १३८ र अन्य मुलुकका ३४८ गरी कुल ३१ हजार ९८९ पर्यटक मुस्ताङ पुगेका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार साउनको तुलनामा भदौमा आन्तरिक पर्यटकको आगमन १४ हजार १५२ अर्थात् ४६.१६ प्रतिशत र सार्क राष्ट्रका पर्यटकको आगमन १६ हजार ४३७ अर्थात् ५२.०५ प्रतिशतले घटेको छ।

तर, अन्य मुलुकका पर्यटकको सङ्ख्या भने बढेको छ। साउनमा १९३ जना विदेशी पर्यटक मुस्ताङ पुगेकामा भदौमा १५५ जना थपिएर ३४८ जना पुगेका छन्।

चालु आर्थिक वर्षको साउन र भदौमा गरी मुस्ताङमा कुल ९३ हजार २५२ आन्तरिक तथा बाह्य पर्यटक पुगेका छन्। तीमध्ये ४७ हजार १५८ आन्तरिक, ४६ हजार ७१३ सार्क राष्ट्रका र ४४१ अन्य मुलुकका पर्यटक रहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक बस्यालले भदौ १० गतेको रसुवा बाढीपछि मुलुकमा शोकको अवस्था सिर्जना भएकाले त्यसको प्रभाव मुस्ताङको पर्यटनमा समेत परेको हुनसक्ने बताए।

गत आर्थिक वर्ष २०८२/८३ को साउनमा १९ हजार ७८१ र भदौमा २३ हजार २०५ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए। गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको साउन र भदौमा पर्यटक आगमन बढेको भए पनि चालु वर्षकै साउनको तुलनामा भदौमा भने उल्लेख्य कमी आएको तथ्याङ्कले देखाएको छ।