कास्की । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी आर्थिक गतिविधि चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यक रहेको बताएका छन्।
लेखनाथ उद्योग वाणिज्य सङ्घको ३०औँ वार्षिक साधारणसभाको शनिबार पोखराको लेखनाथमा उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले सरकारले निजी क्षेत्रलगायत सरोकारवालासँग पर्याप्त संवाद गर्नुपर्ने बताए। निजी क्षेत्र अर्थतन्त्र सुधारका लागि सरकारलाई सहयोग गर्न सधैँ तयार रहेको उनको भनाइ थियो।
“सरकारले अर्थतन्त्रका समस्या पहिल्याउन सक्नुपर्छ। सही दिशा पहिल्याउन सकेपछि मात्र समस्या हल हुने हो र देशले आर्थिक रूपमा गति लिन सक्छ। निजी क्षेत्र सरकारलाई सहयोग गर्न सधैँ तयार छ,” उनले भने।
चालु आर्थिक वर्षको बजेट आएको तीन महिना बितिसक्दा पनि कार्यान्वयनले अपेक्षित गति लिन नसकेको अध्यक्ष श्रेष्ठले बताए। संविधान संशोधनका विषयमा महासङ्घले प्रधानमन्त्री कार्यालयमा सुझाव पेस गरिसकेको जानकारी दिँदै उनले कृषियोग्य जमिन संरक्षणका लागि औद्योगिक, व्यापारिक, आवासीय र कृषि क्षेत्र छुट्याउने भूउपयोग नीति तत्काल आवश्यक रहेको बताए।
गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीले नेपालमा लघु उद्यम तथा व्यवसायको हिस्सा ८२ देखि ८५ प्रतिशतसम्म रहेको उल्लेख गर्दै साना, मझौला र ठूला उद्योगलाई सँगसँगै अघि बढाउनुपर्ने बताए।
महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले महासङ्घजस्ता संस्थालाई सरकारले संस्थागत महत्व दिनुपर्नेमा जोड दिए। निजी क्षेत्रका माग सुनुवाइका लागि महासङ्घले अझ सशक्त भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले उद्योगी–व्यवसायी सङ्कटमा रहेका बेला महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए। लगानीमैत्री वातावरण निर्माण गर्नुका साथै ऋण तथा निजी लगानीसम्बन्धी समस्या समाधानमा पहल गर्न उनले आग्रह गरे।
महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले हालैको भोटेकोशी नदीको बाढीले मुलुकको अर्थतन्त्रमा थप असर पारेको बताए। लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीले विगत एक वर्षमा सङ्घ, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी सीपमूलक तथा रोजगारी सिर्जना गर्ने कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन्।
साधारणसभाका अवसरमा सङ्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यद्वारा स्थापित ‘चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक सेवा’ पुरस्कार यात्री मिडिया नेटवर्क प्रालिका प्रधानसम्पादक टीकाराम यात्रीलाई प्रदान गरिएको थियो। पुरस्कारको राशि एक लाख एक हजार रुपैयाँ रहेको छ।
यस्तै, ‘पोखरा रत्न सम्मान’बाट सम्मानित उद्यमी चन्द्रकृष्ण कर्माचार्यलाई बधाईसहित सम्मान गरिएको थियो।
कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य छत्रधर आत्रेय, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी तथा पोखरा उद्योग वाणिज्य सङ्घकी अध्यक्ष शोभा गौतमलगायतले देशको समृद्धिका लागि निजी क्षेत्रको विकास र विस्तार आवश्यक रहेकाले राज्यले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।