काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आजदेखि सुरु भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले स्थानीय अनुकूलताअनुसार आज र आइतबार वडा अधिवेशन गर्न सकिने कार्यतालिका सार्वजनिक गरेसँगै अधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु भएको हो।
कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडा अधिवेशनमा सहभागी हुन पाउनेछन्।
वडा अधिवेशनले वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र वडा सदस्य निर्वाचित गर्नेछ।
कांग्रेसको विधानअनुसार गाउँपालिका वडा अधिवेशनबाट कम्तीमा दुई महिला, एक दलित र ३० वर्षमुनिका एक युवासहित सात जना वडा सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन्।
निर्वाचित वडा सभापतिले वडा कार्यसमितिबाट कोषाध्यक्ष मनोनीत गर्न पाउने व्यवस्था छ। त्यस्तै, गाउँपालिका वडा सभापतिले पाँच जना वडा सदस्य मनोनीत गर्न सक्नेछन्।
नगरपालिका तथा उपमहानगरपालिका वडा अधिवेशनबाट दुई महिला, एक दलित र ३० वर्षमुनिका दुई युवासहित आठ जना वडा सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन्।
यस्ता वडाका सभापतिले थप छ जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था कांग्रेस विधानमा छ।
महानगरपालिकाका वडा अधिवेशनबाट कम्तीमा तीन महिला, एक दलित र ३० वर्षमुनिका तीन युवासहित ११ जना वडा सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन्।
महानगरका वडा सभापतिले थप सात जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था रहेको निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिए।
वडा कार्यसमितिमा कम्तीमा एकतिहाइ महिला हुनुपर्ने अनिवार्य व्यवस्था छ। साथै समावेशी सिद्धान्तअनुसार विभिन्न समुदाय, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र युवाको प्रतिनिधित्वलाई ध्यान दिनुपर्ने व्यवस्था विधानमा गरिएको छ।
कांग्रेस विधानअनुसार प्रत्येक वडा कार्यसमितिले महिनामा कम्तीमा एकपटक बैठक बस्नुपर्नेछ। आवश्यकताअनुसार क्षेत्रीय अधिवेशनका प्रतिनिधिलाई बैठकमा आमन्त्रण गर्न सकिने व्यवस्था छ।
त्यस्तै, वडा कार्यसमितिले मातहतका टोल कार्यसमितिका सभापतिलाई आफ्नो बैठकमा अनिवार्य रूपमा आमन्त्रण गर्नुपर्नेछ।
विधानले एउटै व्यक्ति क्षेत्रीय अधिवेशन प्रतिनिधि र गाउँपालिका वडा कार्यसमितिको सदस्य दुवै हुन सक्ने व्यवस्था पनि गरेको छ।
वडा अधिवेशनले वडा कार्यसमिति मात्र चयन गर्ने छैन। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडाबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिसमेत चयन हुनेछन्।
निर्वाचन समितिका अनुसार सबै वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि समान संख्यामा प्रतिनिधि चयन गर्ने व्यवस्था गरिएको छ।