मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

राष्ट्र बैंकले ल्यायो ५० रुपैयाँ दरको नयाँ बैंक नोट, पुरानै नोट पनि चल्ने

शुक्रबार, असोज २ २०८३

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको बैंकनोट प्रचलनमा ल्याएको भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले साविककै आकार तथा रुजुमा रहेको नोटको साइजमा नयाँ डिजाइनका विशेषतासहितको ५० रुपैयाँ दरको बैंकनोट प्रचलनमा ल्याउन लागेको हो।

राष्ट्र बैंकका अनुसार नयाँ नोट २०८३ साल असोज दुई गते अर्थात शुक्रबारबाट प्रचलनमा ल्याईएको हो । सर्वसाधारणको जानकारीका लागि राष्ट्र बैंकले नयाँ नोटका विशेषतासहितको सूचना सार्वजनिक गरेको हो । नयाँ ५० रुपैयाँ दरको नोटको अग्रभागको मध्य भागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानी प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइन्छ’ भन्ने प्रतिज्ञात्मक वाक्यांश उल्लेख गरिएको छ।

त्यस्तै, नोटको बायाँतर्फको साराभागमा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । सोही भागमा ‘५०’ अंकित पानी छापसमेत रहने राष्ट्र बैंकले जनाएको छ । नोटको तल्लो भागमा सिरिज नम्बर ‘वि.सं. २०८२’ लेखिएको छ भने नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ । नोटमा १.२ मिमि चौडा भएको कागजी धागो सुरक्षा धागोका रूपमा प्रयोग गरिएको छ । उक्त धागो प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रूपमा देखिने र त्यसमा ‘एनआरबी’ लेखिएको राष्ट्र बैंकले जनाएको छ।

नयाँ नोटको पृष्ठभागको मध्य भागमा हिँड्ने चितुवाको चित्र राखिएको छ भने सोको माथि ‘नेपाल राष्ट्र बंैंक’ लेखिएको छ । पृष्ठभागको तल्लो खण्डमा ‘रुपिज फिप्टी’ तथा सिरिज नम्बर ‘२०२५ ए.डी’ उल्लेख गरिएको छ।

राष्ट्र बैंकले यसअघि २०७७ साल असार २२ गतेदेखि रुपैयाँ ५० दर (सिरिज २०१९) का बैंकनोट साविककै नोट नम्बरको शृंखलामा चलनचल्तीमा ल्याउने सूचना प्रकाशित गरेको थियो । उक्त व्यवस्थाअनुसार चलनचल्तीमा रहेको सो बैंकनोटमध्ये रु. ५० दरका नोट नम्बर ०००००१ देखि ९९९९९९ सम्मका नोटहरू चलनचल्तीमा रहेकोमा अब ०००००१ देखि १०००००० सम्मका नोटहरू मात्र चलनचल्तीमा ल्याइने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले नयाँ नोट सार्वजनिक गर्दै ‘नोट राष्ट्रको सम्पत्ति हो, यसको जतन गरौं’ भन्ने सन्देशसमेत दिएको छ।