काठमाडौँ । जग्गाको अंशबण्डाअनुसारको नक्सा ट्रायल चेक गरी नक्सा संशोधन गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा महोत्तरीको बर्दिवासस्थित नापी कार्यालयका एक सर्वेक्षक पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बर्दिवास नगरपालिका–१ स्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक शिवकुमार साहले नक्सा संशोधन गरिदिने भन्दै सेवाग्राहीलाई दुःख–हैरानी दिई घुस मागेको सूचना एवं उजुरीका आधारमा आयोगको बर्दिवास कार्यालयबाट टोली खटाइएको थियो ।
टोलीले साहलाई सेवाग्राहीबाट घुसबापत लिएको एक लाख रुपैयाँसहित २०८३ भदौ ३० गते नापी कार्यालयअगाडि रहेको खाजाघरबाट नियन्त्रणमा लिएको हो ।
आयोगका अनुसार साहविरुद्ध घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धान अघि बढाइएको छ । उनलाई २०८३ भदौ ३१ गते विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।