मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार, दुई महिनामै लक्ष्यभन्दा १८ प्रतिशत बढी

बिहिबार, असोज १ २०८३

झापा । भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिनामै निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयका अनुसार साउन र भदौमा गरी रु चार करोड ६६ लाख ४९ हजार ५४० राजस्व संकलन भएको छ । यो दुई महिनाका लागि निर्धारण गरिएको लक्ष्यको ११८ दशमलव ३४ प्रतिशत हो ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत प्रभुनारायण मेहताका अनुसार सीमा क्षेत्रमा चोरी तथा पैठारी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता बढेसँगै वैधानिक नाकाबाट हुने आयात बढेकाले राजस्व संकलनमा सुधार आएको हो । विशेषगरी साडी, कुर्तासलवारलगायत कपडाको आयात बढेको उनले बताए ।

भदौमा रु दुई करोड १० लाख २४ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा कार्यालयले रु तीन करोड १६ लाख १५ हजार ४२२ संकलन गरेको छ । यो लक्ष्यको १५० दशमलव ३८ प्रतिशत हो । साउनमा भने रु एक करोड ५० लाख ३४ हजार ११८ राजस्व संकलन भएको थियो ।

चालु आर्थिक वर्षमा भद्रपुर भन्सार कार्यालयले रु २६ करोड २८ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । दुई महिनामा संकलित रकम वार्षिक लक्ष्यको १७ दशमलव ७५ प्रतिशत हो ।

संकलित राजस्वमध्ये सबैभन्दा बढी रु दुई करोड २० लाख एक हजार १५६ मूल्य अभिवृद्धि कर (भ्याट) बाट प्राप्त भएको छ । यस्तै, भन्सार महसुलबाट रु एक करोड ८४ लाख १२ हजार ३२३, अन्तःशुल्कबाट रु ६२ लाख ७७ हजार २९६ र कृषि सुधार शुल्कबाट रु १३ लाख २२ हजार ३८९ संकलन भएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०८२/८३ मा भने भद्रपुर भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको थिएन । सो वर्ष रु २५ करोड तीन लाख २५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु १८ करोड ६० लाख ९५ हजार ८४४ अर्थात् लक्ष्यको ७४ दशमलव ३४ प्रतिशत मात्रै संकलन भएको थियो ।